काठमाडौं, १३ साउन (ओएनएस) : इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ‘इद उल फित्र’ विशेष हर्साल्लासका साथ देशभर मनाईदै छ ।
एक महिनाको कठोर व्रत पछि ‘इद उल फित्र आजका दिन मनाउने गरिन्छ । गएराति चन्द्रमा उदाए पछि ‘इद उल फित्रु मनाईन्छ । मुस्लिम समुदायले आजका दिन शुभकामना आदान प्रदान गर्नुका साथै नयाँ कपडा लगाएर र मीठो खानेकुरा खाएर रमाईलो गर्ने परम्परा छ । मुस्लिम समुदायले बर्ष भरी कमाएको धनबाट केही अंश दान गर्ने पनि गर्छन ।
राष्ट्रपति डा रामवरण यादवले इस्लाम धर्मावलम्बीको पर्व इल उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
आफ्नो शुभकामना सन्देशमा राष्ट्रपति डा यादवले रमदानका अवसरमा लामो उपवास बसेर व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुसी साटासाट गरी भाइचारा अभिवृद्धि गर्न सहयोग पुर्याउने यस चाडले मुसलमान समुदायमा विशेष महत्व राख्ने बताएका छन् ।
मुलुकका विभिन्न समुदाले मनाउने पर्वले नै नेपालको पहिचान बोकेको छ, यहाँ प्रचलित सबै प्रकारका चाडपर्व, भाषा, वेशभूषा, संस्कृति र परम्पराको संरक्षण र सम्बद्र्धन गर्दै समाजमा आपसी एकता, शान्ति, सद्भाव र सहयोग एवम् भाइचाराको अभिवृद्धि गर्नका निम्ति इद उल फित्र पर्वले हामी सबैमा प्रेरणा प्रदान गर्न सकोस् –सन्देशमा भनिएको छ ।
यसै अवसरमा उपराष्ट्रपति परमानन्द झाले देशविदेशमा रहेका सम्पूर्ण नेपाली मुसलमान नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति र समृद्विको कामना गर्दै यस पर्वको माध्यमबाट नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।