‘आर्थिक चलखेल गरेर १४ नर्सिङ क्याम्पसलाई स्वीकृति !’

272
  •  
  •  
  •  

काठमाडौं, २२ चैत (ओएनएस)  : मेडिकल शिक्षालाई व्यवस्थित गर्न प्रा. डा. गोविन्द केसीले आमरण अनसन बस्दै सरकारसँग ११ बुँदे सहमति गरेको केही दिन बित्न नपाउँदै शिक्षामन्त्री चित्रलेखा यादवले १४ नर्सिङ क्याम्पसलाई मापदण्ड विपरित संचालन अनुमति (एफिलिएसन) दिने तयारी गरेकी छन् ।

सीटीइभीटी परिषदकी अध्यक्ष समेत रहेकी शिक्षामन्त्री यादवको प्रत्यक्ष निर्देशनमा सदस्यसचिव रामहरि लामिछानेले परिषद बैठकको प्रस्ताव समेत तयार पारेका छन् । सोमबार बस्ने परिषद बैठकबाट ‘मापदण्ड पुगेका केही’ देखि मापदण्ड नपुगेका १४ वटा कलेजलाई एकमुष्ट संचालन अनुमति (एफिलिएसन) दिने तयारी छ ।

‘परिषद बैठकको एजेण्डा बाँडिसकिएको छ, १४ कलेजलाई संचालन अनुमति दिने विषय एजेण्डामा छ’ सीटीइभीटी परिषदका सदस्य टेकबहादुर खड्काले भने, ‘म चही आँखाको अप्रेसन गरेका कारण चितवन आएकाले बैठकमा सहभागि हुन असमर्थ छु ।’ उनले कलेज संचालन अनुमति (एफिलिएसन) लामो समयदेखि रोकिएपनि नयाँ सदस्यसचिव आएपछि अहिले खोलिएको बताए ।

चलखेल भएको छ भनिन्छ नी ? भन्ने प्रश्नमा खड्काले भने, ‘निजी कलेजलाई अनुमति दिदा आर्थिक चलखेल हुन्छ भन्ने सुनेपनि त्यसबारे आफूले थाहा नपाएको बताए । खड्काले चलखेल भएको भन्नेबारे अनविज्ञता प्रकट गरेपनि अहिले सुदुरपश्चिमदेखि व्यवस्थित रुपमा अनुमति प्रदान गर्ने प्रस्ताव आएको भन्दै त्यसको विरोध गर्ननहुने बताए ।

‘मापदण्ड पुगेकादेखि नपुगेकासम्म १४ क्याम्पसलाई नर्सिङ र ल्याव आसिस्टेन्ट पढाउनेगरी अनुमति दिइएको छ’ सीटीइभीटी स्रोतले भन्यो, ‘मापदण्ड पुगेका र नेताका कलेज बाहेकसँग चार लाख देखि २० लाख रुपैयाँसम्म उठाइएको छ ।’ नाम नखोलाइदिन अनुरोध गर्दै ती अधिकारीले भने, ‘त्यसरी उठाएको रकम मध्ये ४० लाख रुपैयाँ शिक्षा मन्त्रीले लिनेछिन भने बाँकी रकम सदस्य सचिव लामिछाने र प्रशासन विभाग प्रमुखले कुम्ल्याउने तयारी गरेका छन् ।

‘यो विषयमा विवाद आउछ, बाहिर टिका–टिप्पणी हुन्छ भनेर सदस्यसचिव र मन्त्री दुबै सचेत देखिनुभएको छ’ ति अधिकारीले भने, ‘त्यसैले मन्त्रीजीको अमेरिका भ्रमणकै अघिल्लो दिन सदस्य–सचिवले बैठकको डाक्नुभएको छ ।’ उनका अनुसार शिक्षामन्त्री यादव मंगलबार साँझ नैं अमेरिकाको भ्रमणमा निस्कदै छिन् ।

संचालन अनुमति लिन लागेका कलेजमध्ये महेन्द्र नारायण निधि अस्पतालले पैसा खुवाएको छैन । कांग्रेस नेता तथा भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री विमलेन्द्र निधीका पिताका नाममा संचालित कलेजबाहेक अधिकांस कलेजसँग पैसा उठाइएको छ ।

संचालन अनुमति दिन लागिएका कलेज हरुमा महेन्द्र नारायण निधि मेमोरिएल, काठमाडौं, पद्मा नसिंङ क्याम्पस, अत्तरिया–कैलाली, कोटिएन अस्पताल, दिपायल, मैयादेवी कन्या नर्सिङ कलेज, चितवनसहित १४ कलेज छन् ।

सीटीइभीटी स्तर निर्धाण महाशाखाका निर्देशक विनय मिश्रले स्तर निर्धारण भएका तथा मापदण्ड पुगेका कलेजलाई नै संचालन अनुमति दिन लागिएको हो ? भन्ने हाम्रो जिज्ञासालाई पटक–पटक ‘मिटिङमा छु पछि कुरा गर्छु’ भन्दै टार्ने प्रयास गरे । मिटिङमै भएपनि कुरा गर्न नयार भएका उनले ‘अहिले अनुमति दिन लागेका सबै कलेज मापदण्ड पुगेका हुन् ?’ भन्ने हाम्रो प्रश्न सुनेपछि ‘प्लीज मलाई पछि फोन गर्नुहोस् न’ भन्दै फोन काटे । सीटीइभीटीका परिषद्का उपाध्यक्ष गोपाल खनाल कार्यकाल सकिएर विदा भएपछि अहिले उपाध्यक्ष पद पनि खाली छ ।


  •  
  •  
  •