नियम विपरित नर्सिङ कलेजलाई सम्बन्धन दिने सीटीईभीटीको निर्णय रोकियो

290
  •  
  •  
  •  

काठमाडौं, २६ चैत (ओएनएस) : प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले गत सोमबार नर्सिङ कलेजलाई सम्बन्धन दिने निर्णय प्रधानमन्त्री कार्यालयले रोकेको छ ।

प्रधानमन्त्रीको प्रत्यक्ष निर्देशनमा बिहिबार प्रधानमन्त्री कार्यालयका सचिव शान्तराज सुवेदीले निर्णय कार्यान्वयन नगर्न परिपत्र गरेका हुन् ।

आर्थिक चलखेलका कारण आफ्नो अस्पताल समेत नभएका कलेजलाई सम्बन्धन दिएको सीटीभीटी परिषद केहीदिन भित्रै आफ्नो निर्णय रोक्न बाध्य भएको छ । सीटीईभीटी परिषद्का सदस्य सचिव र शिक्षा मन्त्री चित्रलेखा यादवको आर्थिक स्वार्थमा सम्बन्धन पाएका कलेजहरु भने समस्यामा पर्ने निश्चित भएको छ ।

डा. गोविन्द केसीको अनसनपछि गरेको सम्झौताका कारण तत्काल मेडिकल शिक्षामा नयाँ निर्णय गर्ने परिस्थिति नभएको भन्दै प्रधानमन्त्री कार्यालयले यस्तो निर्देशन दिएको हो ।

प्रधानमन्त्री कार्यालयको निर्देशनले निर्णय रोक्न बाध्य भएपछि अब परिषदका सदस्य सचिव र शिक्षा मन्त्री भने समस्यामा पर्ने छन् । मापदण्ड नपुगेका कलेजसँग आर्थिक चलखेल गरेर दिइएको सम्बन्ध रोक्नु परेपछि आर्थिक चलखेलको पर्दाफास हुने अपेक्षा गरिएको छ ।


  •  
  •  
  •