क्रसर उद्योगका कारण दुई बस्ती जोखीममा

327
  •  
  •  
  •  

विराटनगर, १० फागुन(ओएनएस) : सरकारले चुरे क्षेत्र संरक्षण कार्यक्रम अन्तर्गत विभिन्न काम गर्दै आएको छ । चुरेमा भैरहेको अतिक्रमण रोक्न सरकारले संयन्त्र नै परिचालित गरेको छ । तर, मोरङको लेटाङमा भने चुरे क्षेत्र नजिकै अनाधिकृत रूपमा ढुङगागिटी उत्खनन गरिँदै आएको छ । अनाधिकृत रूपमा ढुङ्गा गिटी उत्खनन गरेका कारण सो क्षेत्रमा पर्ने बस्तीहरू जोखिममा परेका छन् भने खानेपानी संकट चुलिदै गएको छ ।

स्थानीय चिसाङ खोलामा रहेको ढुङगागिटी अनाधिकृत रुपमा उत्खनन गरी ओम क्रसर उद्योगले सो क्षेत्रमा हालीमुहाली गर्दै आएको स्थानीयबासीले आरोप लगाएका छन् ।

crosser industry1क्रसरले मनोमानी रूपमा ढुङगा गिटी उत्खनन गर्दा बस्ती नै जोखिममा परेको भन्दै स्थानीयले धेरै अघि देखी क्रसरको दोहन बन्द गराउन माग गर्दै आएका छन् । तर, क्रसर सञ्चालकले भने टेरेका छैनन् ।

भीम पौडयालले सञ्चालन गरेको ओम क्रसर उद्योगले अनाधिकृत रूपमा ढुङगा गिटी उत्खनन गर्दा  लेटाङ भोगटेनी नगरपालिका–७ को कीर्तिमान र कमलपुर बस्ती जोखिममा परेको छ भने स्थानीयले बस्ती छेक्न बनाएको तटबन्ध पनि भत्कने अवस्थामा पुगेको छ ।

नवघोषित नगरपालिका कीर्तिमान र कमलपुर बस्तीको बिचबाट बगेको चिसाङ खोलामा रहेको ढुङ्गा गिटी माटोको सतहसम्म उत्खनन गरेको छ । स्काभेटर लगाएर उद्योगले खोलाको सहतसम्म गिटी निकालेको हो । खोला खोतल्दा सहतको माटो समेत बाहिर आएको छ ।

crosser industryक्रसरले जिल्ला विकास समितिले तोके अनुसार नै उत्खनन गर्दै आएको बताएपनि मनोमानी रूपमा उत्खनन गर्दै आएको स्थानीयको आरोप छ । सो उद्योगले खोला बग्ने सतह भन्दा ५ देखी ८ फुटसम्म गहिरो खाडल खनी स्काभेटरले ढुङ्गा गिटी उत्खनन गरेको स्थानीयले जानकारी दिए ।

चिसाङ खोलाको दोहन हटाउनु पर्ने भन्दै स्थानीयले संघर्ष समिति नै गठन गरेका छन् । स्थानीय संघर्ष समिति सदस्य डम्मर राईले क्रसरले आफू खुसी उत्खनन गरेका कारण दुई बस्ती बाढीले बगाउने जोखिम रहेको बताए । उनले भने, ‘उद्योगले आफु खुसी उत्खनन गरिरहेको छ । सार्वजनिक सम्पतीमा व्यक्तीले हालीमुहाली गर्दापनि प्रशासन मौन छ । धेरै सहियो तर अब चुप लागेर बस्दैनौ । प्रशासनले चासो नदिए आफै बन्द गर्छौ ।’

क्रसर उद्योगबाट निष्किएको धुलो र ध्वनीले आसपासमा समेत बस्न नसक्के अवस्था रहेको स्थानीयले बताएका छन् । उद्योगबाट निस्केको धुलो र आवाजले घरमा बस्न नसक्ने अवस्था रहेको स्थानीय छविनारायण भट्टराइले गुनासो गरे ।

उनले भने ‘मेरो घर क्रसर उद्योगदेखी दुई सय मिटरको दूरीमा छ । क्रसर चलेको बेला छेउमै भएको मान्छेलाई पनि इशाराले बोलाउनुपर्छ । मुखले बोलाउँदा सुनिदैन् । धुलोले घरमा बसी सक्नु हुदैन् ।’

उनले उद्योग सञ्चालन गर्नु अघि विकास गर्ने भन्दै अनेक लोभ लालच देखाएपनि ७ बर्षसम्म केही नगरेको गुनासो गरे । उनले थपे, ‘खोलाको जोखिममा थियौ । खोला छेकिदिन्छु भन्यो मख्ख पर्यौ तर, अझै खोलो जस्ताको तस्तै छ । बर्खामा बगाउँला भन्ने त्रास छ ।’

अनाधिकृत रूपमा सञ्चालनमा रहको उद्योगले सार्वजनिक सम्पत्तिमा एक व्यक्तिले हालीमुहाली जमाएको भन्दै लेटाङवासीले हटाउन माग गरेका हुन् ।

पटक–पटक प्रशासनलाई बन्द गराउन दवाव दिएपनि चासो नदिएको भन्दै स्थानीयले क्रसर उद्योग सञ्चालन बन्द नगरे आफै बन्द गर्ने समितिले चेतावनी दिए ।

४ सय ८० घर परिवार विस्तापित हुने अवस्था आएपनि प्रशासनले वास्ता नगरेको भन्दै स्थानीय गणेश भट्टराइले भने, ‘राज्यको सम्पत्तीमा एक व्यक्तिको हालीमुहाली भयो रोकथाम गर्ने कस्ले ।’

चिसाङ खोला संरक्षण तथा संघर्ष समितिले वन र बस्ती क्षेत्र नजिकै रहेको क्रसर उद्योग हटाउन  कीर्तिमान र कमलपुरका स्थानीय ६ सय ३ जनाको हस्ताक्षरसहित माघमा जिल्ला प्रशासन समक्ष ज्ञापनपत्र बुझाएको थियो ।

तर, सरकारले भने पुस मसान्तसम्म दिएको म्याद सार्दै असार मसान्तसम्म क्रसर उद्योगलाई यथास्थीतीमा सञ्चालन हुन दिने निर्णय गरेकाले प्रशासनले क्रसर बन्द गर्न नसक्ने बताएको हो ।

यता उद्योगका सञ्चालक भिम पौडयालले भने मपदण्ड भित्र रहेर क्रसर सञ्चालन गर्दै आएको बताएका छन् । उनले आफूले मापदण्ड भन्दा बाहिर नगएको दावी गरे ।

पानीको समस्या

प्राकृतिक स्रोत साधनको अनाधिकृत दोहनका कारण पहाडी क्षेत्रमा खानेपानीको समस्या बढ्दै गएको छ । पानीको मुहान सुक्दै गएपछि चुरेक्षेत्रमा पर्ने मोरङको लेटाङ भोगटेनी नगरपालिकामा पानी संकट चुलिदै गएको हो । स्थानीय खानेपानी उपभोक्ता समितिका सचिव सूर्य राइले क्रसरका कारण खानेपानीको मुहान सुक्दै गएको बताए ।

खानेपानी संकट समाधान गर्न भन्दै दुईवटा खानेपानी आयोजनाहरू निर्माण हुँदैछन् तर, चुरे क्षेत्रको अत्याधिक दोहानका कारण आयोजनाले पनि पानीको मुहान फेला पार्न नसकेको स्थानीय बताउँछन् ।  सचिव राईले भने, ‘ लेटाङ ३० करोडका दुइवटा खानेपानी आयोजना बन्दैछन् । पहिले सर्वेक्षण गर्दा ६० फुटमा पानी भेटिएको थियो । तर अहिले एकसय २० फुट खनि सकियो तरपनि पानी भेटिएको छैन् । ’ क्रसरका कारण खेत र खानीपानीको मुहान सुक्दै गएको र केही बर्षयता पानीको मुहान सुक्दै गएका कारण हिउँदमा खानेपानी संकट हुने थालेको उनले बताए ।

लेटाङ नगरपालिका मात्र होइन चुरे क्षेत्रको दोहनका कारण पहाडी क्षेत्रहरुमा खानेपानी संकट चुलिदै गएको छ । बर्खामा पानीको समस्या नभएपनि हिउद लाग्नसाथ पानीको मुहान सुक्न थालेको हो ।

भर्खरै घोषणा गरिएको लेटाङ भोगटेनी नगरपालिकाको मुख्य समस्या भनेकै खानेपानी हो । खानेपानी समस्या समाधान गर्न ओभरहेड ट्याङ्की बनाउने कार्य सञ्चालन भैरहेपनि खानेपानीको मुहान नै भेटन समस्या भएको स्थानीय खानेपानी उपभोक्ता समितिका सचिव सूर्य राईले बताए ।

नगरमा सञ्चालित साना सहरी खानेपानी आयोजनाले तीन महिना भित्रै खानेपानी उपलब्ध गराउने लक्ष्य राखेको भए पनि खानेपानी पाउने आशा हराउँदै गएको स्थानीयले गुनासो गरे  ।

३० करोड लागतमा लेटाङ भोगटेनी नगरपलिकामा निर्माण भइरहेको दुईवटा खानेपानी आयोजनाले पानी वितरण गर्न नसकेको उनीहरुले गुनासो गरे ।


  •  
  •  
  •