काठमाडौ, २४ भदौ(ओएनएस) : नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्यले कैलालीको टीकापुरमा भएको घटनामा आफ्नो पार्टीको संलग्नता रहेको बताएका छन् ।
१० वर्षे माओवादी युद्धमा ज्यान गुमाएकाको स्मृति सभामा सहभागी हुन गोरखा आएका उनले आज गोरखा सदरमुकाममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा वैद्यले टीकापुरको आन्दोलनमा आफ्नो पार्टीको पनि संलग्नता भएको तर आन्दोलनमा घुसपैठ गरेर घटना भने नघटाएको बताएका छन् ।
उनले संविधान जारी गर्छु भनेर लागेका कांग्रेस, एमाले र एमाओवादीलाई नबनाएपनि सुख छैन, जबरजस्ती बनाउन खोजे भने पनि सुख नहुने बताएका छन् । संविधान सभामा रहेका दलहरु नै संविधान निर्माणको प्रक्रियामा असन्तुष्टि जनाउँदै बाहिरिन थालेपछि संविधान निर्माण गर्न सहज नभएको उनले बताए ।
अध्यक्ष वैद्यले कांग्रेस, एमाले र एमाओवादीका शीर्ष नेताहरूले प्रजातन्त्रको नाममा फाँसीवादको अभ्यास गरिरहेको बताएका छन् । उनले लोकतन्त्रको संविधान कर्फ्यु र गोलीबाट लाद्न खोजिएको आरोप पनि लगाएका छन् ।
अध्यक्ष वैद्यले आन्दोलनरत शक्तिहरुलाई लत्याएर संविधान बन्न नसक्ने प्रष्ट पारे । आन्तरिक गृहकार्य नगरी शीर्ष नेताहरुले आन्दोलनरत पक्षलाई वार्तामा बोलाएको उनको भनाइ थियो । सबै असन्तुष्टलाई मिलाउनका लागि सर्वदलीय सभाबाट संविधान निर्माण गर्नुपर्ने वैद्यको भनाई छ ।
‘अब संविधान आएपनि नआएपनि देशमा संकट सुरु भयो,’ उनले भने, ‘अर्को संघर्षलाई निम्ता दिइएको छ, आन्दोलनको अध्याय सुरु गर्छौं ।’