फरार अभियुक्त १४ वर्षपछि पक्राउ

219
  •  
  •  
  •  

काठमाडौं, मंसिर १८ (ओएनएस)  : बलात्कारको अभियोगमा अदालतबाट जन्मकैदको सजाय पाई १४ वर्षदेखि फरार रहेका झापा चन्द्रगढी–३ का ४२ वर्षीय सिताराम वस्नेत राजधानीबाट पक्राउ परेका छन् ।

नेपाल प्रहरीको  केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले कोटेश्वरमा लुकीछिपि बसेको अबस्थामा बस्नेतलाई बुधबार पक्राउ गरी काठमाडौं जिल्ला अदालतमा बिहिबार पेश गरेको छ ।

गत २०५७ असोज २९ गते झापाकै सन्ध्या राजवंशीलाई चारआली जङ्गलमा लगी जवरजस्ती करणी गरेपश्चात घाँटी थिची हत्या गरेको अभियोगमा बस्नेतलाई सर्वोच्च अदालतबाट गत २०६६ भदौ २९ गते जन्मकैदको सजाय ठहर भएको थियो ।

बस्नेतसमेतले घटना लुकाउन सन्ध्या राजबंशीले आत्महत्या गरेको देखाउन मृतकको घाँटीमा डोरी लगाई चारआली जङ्गलस्थित बकैनाको रुखमा शब झुण्ड्याएको अनुसन्धानबाट खुल्न आएको छ ।

रेडपाण्डाको छालासहित पक्राउ
नुवाकोट जिल्ला थानापती गाविस–७ बस्ने ३३ बर्षी राजु पाण्डेलाई प्रहरीले दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला १ थानसहित पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनलाई बुधबार काठमाडौँ महानगरपालिका–२९ सामाखुसी टाउनप्लानिङमा रेडपाण्डाको छाला ५ लाख रुपैयाँमा खरिद विक्री गर्न लागेको अवस्थामा फेला पारेको थियो ।

निजलाई आवश्यक कारवाहीको लागि रेडपाण्डाको छालासहित जिल्ला बन कार्यालय हात्तीसार काठमाडौँमा पठाइएको छ ।


  •  
  •  
  •