बोक्सीको आरोपमा महिला आफन्तबाटै कुटिए

297
  •  
  •  
  •  

सप्तरी, ३ भदौ (ओएनएस) कथित बोक्सीको आरोपमा सप्तरीको मलेकपुर गाविसमा एक दलित महिलालाई आफन्तजनहरूले कुटपिट गरेका छन् ।

जेठाजु कमल मरिक (डुम), उनका छोरा विनोद र दिलीपलगायतले बोक्सी भन्दै मलेकपुर गाविस, ४ निवासी २३ वर्षीया रामकुमारी मरिकलाई निर्घात कुटपिट गरेका हुन् ।

आफन्तहरूको कुटपिटबाट गम्भीर घाइते भएकी रामकुमारीको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

आफ्ना श्रीमान् रुदल मरिक कृष्ण जन्माष्टमीको अवसरमा मेला भर्न गएको मौका छोपी सोमबार साँझ जेठाजुसहित उनका छोराहरूले आफूलाई निर्घात कुटपिट गरेको अस्पतालमा उपचार गराइरहेकी रामकुमारीले बताइन् ।

जेठाजुको छोरी एक वर्षदेखि बिरामी हुने गरी टुनामुना गरेको आरोप आफूमाथि जेठाजुले लगाउने गरेको गुनासो रामकुमारीको छ ।

बोक्सी भन्दै गालीगलौज र कुटपिट गर्नेहरूविरुद्ध प्रहरीमा उजुरी दिने तयारी गरिरहेको रामकुमारीका श्रीमान् रुदनले बताउनुभयो । यता सप्तरी प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार ढकालले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।


  •  
  •  
  •