फिरौती माग्ने कार्यका मुख्य योजनाकार पक्राउ

328
  •  
  •  
  •  

काठमाडौं, २७ साउन (ओएनएस) : नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसियामा अपहरण गरी फिरौती माग्ने कार्यका मुख्य योजनाकार तनहुँ पुर्काेटका कमलबहादुर गौलीलाई पक्राउ गरेको छ ।

गौलीलाई अपहरण तथा शरीरबन्धक र साङ्गठनिक मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
गौलीलाई चितवनको सौराहाबाट पक्राउ गरिएको हो । भक्तपुर सुडानका रामप्रसाद नेपालको जाहेरीका आधारमा गौलीलाई नियन्त्रणमा लिइएको हो । अपहरणकारी समूहले गत जेठ ४ गते मलेसियाको कोत्राय भन्ने ठाउँमा नेपाली तथा मलेसियालीलाई अपहरण गरी पाँच दिनसम्म आँखामा पट्टी तथा हातखुट्टा बाँधी जङ्गलका बीचमा बन्धक बनाएको पाइएको थियो ।

अपहरणकारीले पीडितका आफन्तबाट रु ३० लाख बराबरको फिरौती मागेका थिए । बन्धक बनाइएको ठाउँबाट सहरतर्फ जाने क्रममा सवारी दुर्घटना भई पीडित नेपाल उनीहरुको पञ्जाबाट मुक्त भई उजुरी दिन सफल हुनुभएको थियो । यस्तै नक्कली प्रवेशाज्ञा, सरकारी छाप तथा कागजात बनाई विदेश पठाउने कार्यमा संलग्न सरकारी कर्मचारी र एजेन्सीका सञ्चालकलाई पक्राउ गरिएको छ ।

राष्ट्रिय अनुसन्धान विभागका सहायक सूचक विपीनकुमार सिंहलाई आज पक्राउ गरी अनुसन्धान गर्दा दार्चुला हुती– ८ घर भई हाल मैतीदेवी बस्ने अभियुक्त सिंहले आफू अनुसन्धान अधिकृत हुँ भन्दै विभागको लेटर हेडमा किर्ते हस्ताक्षर गरी फ्रान्सेली दूतावासमा प्रवेशाज्ञा प्रयोजनका लागि कागजात तयार गरेको पाइएको छ ।

सिंहको बयानका आधारमा गोरखा जिल्ला आँपपीपल घर भई हाल नयाँ बजार काठमाडौँमा आइएमआई इन्टरनेसनल प्रालिका सञ्चालक रहेका किशोर थापालाई आज पक्राउ गरिएको हो । त्यसरी कागजात बनाई विभिन्न मुलुकको प्रवोशाज्ञा लागेपछि सर्वसाधारणबाट रु आठ लाखदेखि २० लाखसम्म लिएको अनुसन्धानबाट पुष्टि भएको ब्युरोले जनाएको छ ।

प्रहरीले सो प्रालिबाट विभिन्न विश्वविद्यालयका रबर छाप, राष्ट्रिय मानवअधिकार आयोगको छाप तथा विभिन्न व्यक्तिको राहदानी पनि जफत गरेको ब्युरोका प्रहरी उपरीक्षक पीताम्बर अधिकारीले जानकारी दिनुभयो । मुलुकी ऐनको भाग ४ महल १ अनुसार यसरी किर्ते गर्नेलाई दुई वर्षसम्म कैद हुने व्यवस्था छ ।


  •  
  •  
  •