क्रिकेट प्रशिक्षक ह्वाटमोरले दिए राजीनामा

477
  •  
  •  
  •  

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएका छन् । भारतीय सञ्चार माध्यम न्यूज नाइनले एक्सक्लुसिभ समाचार भन्दै प्रशिक्षक ह्वाटमोरले राजीनामा दिने दावी गरेको छ ।
अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षकले राजीनामा दिएको पुष्टि गरेका छन् । उनका एजेन्टबाट शुक्रबार इमेल प्राप्त भएको बताए । ओमान टुर पछि घरायसी कारण देखाउँदै नेपाली टिमसँग आवद्ध नहुने आशय पहिला पनि व्यक्त गरेको बताउँदै आफूले फेरि एक पटक प्रशिक्षकसँग कुरा गर्ने पनि अध्यक्ष चन्दले जानकारी दिए । गत डिसेम्बरमा एक वर्षका लागि प्रशिक्षक ह्वाटमोर खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका थिए ।

नेपाली राष्ट्रिय क्रिकेट टोली हाल पपुवा न्युगिनी विरुद्ध दुई खेलको मैत्रीपूर्ण सिरिज तथा आइसीसी विश्वकप क्रिकेट लिग –२ को खेलका लागि ओमानमा छ । मंगलबार काठमाडौंबाट प्रस्थान गरेको टोलीले विहीबार देखि ओमानमा प्रशिक्षण पनि शुरु गरिसकेको छ । ह्वाटमोरले पछिल्लो समय परिवारबाट टाढा बस्नुपर्दा केहि समस्या रहेको बताउने गरेका थिए । प्रशिक्षकको राजीनामाले ओमान भ्रमणलाई असर नगर्ने बताइएको छ ।

ह्वाटमोरले नेपाली टिम सम्हाले पछि पहिलो पटक राष्ट्रिय टिमले विदेशी भूमिमा सिरिज खेल्दै छ । यसअघि वैशाखमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टी २० सिरिज खेल्दा नेपाली टिम च्याम्पियन बनेको थियो ।


  •  
  •  
  •