काठमाडौं ६ साउन (ओएनएस) । नेपाली क्रिकेटका प्रशिक्षक दाशानायके बिना नै नेपाली क्रिकेट टोली एशियाली खेलकुदमा सहभागि हुने भएको छ । सरकारले पुवुदु दाशानायकेलाई थप एक वर्षका लागि नेपाली क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त गरेपनि नेपाली क्रिकेट टिम दाशानायके बिना नै एशियाली खेलकुदमा सहभागी हुने भएको हो ।
दाशानायके आउने नआउने टुंगो नभएपछि नेपाल क्रिकेट संघ क्यानले २ महिनापछि दक्षिण कोरियामा हुने १७ औं एशियाली खेलकुदका लागि अरुण अर्याललाई प्रशिक्षकको जिम्मेवारी दिएको छ । क्यानले मंगलबार एक विज्ञप्ति निकाली एशियाली खेलकुदका लागि प्रशिक्षकमा अर्याललाई नियुक्त गरेको जानकारी दिएको छ ।
तर क्यानका महासचिव उत्तमकुमार कर्माचार्यले भने एशियाली खेलकुदका लागि खेलाडी र प्रशिक्षकको नाम पठाई हाल्नु पर्ने भएकाले दाशानायकेको म्याद नथपिँदै यसअघि नै अर्यालको नाम प्रशिक्षकका रुपमा नेपाल ओलम्पिक कमिटिमा पठाएको जानकारी दिए ।
एशियाली खेलकुदमा भाग लिन जाने खेलाडी तथा पदाधिकारीको भिषा तथा अरु व्यवस्था र प्रतियोगिता आयोजकसँगको समन्वय नेपाल ओलम्पिक कमिटिले मिलाउने गर्छ ।