हङकङसँग हारेपछि नेपालको विश्वकप यात्रा कठिन

450
  •  
  •  
  •  

काठमाडौं ३१ असार । विश्व ट्वान्टी–२० छनोटमा नेपालको कमजोर प्रदर्शन कायम छ । बुधबार हङकङसँगको ५ विकेट पराजयपछि नेपाल प्रतियोगिताबाट बाहिरिने स्थितिमा पुगेको छ । ४ खेलमा नेपालको यो दोस्रो पराजय हो । नेपालको छनोट हुने आशा अव आफ्नो हातमा रहेन ।

टस हारेर ब्याटिङ गर्न आएको नेपाल निर्धारित २० ओभर खेलेर १ सय ९ रनमा अलआउट भयो । उत्तरी आयरल्यान्डको बेलफास्टमा संयमीत भएर खेलेको हङकङले ५ बल अगाडी लक्ष्य पुरा गर्‍यो । अघिल्लो खेलमा आयरल्यान्डसँग ८ विकेटले पराजित भएको नेपालले पछिल्लो ७ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलमा ६ मा पराजय भोगिसकेको छ ।

नेपाल समूह ‘ए’ को अंक तालिकामा पाँचौं स्थानमा झरेको छ । नेपालले ४ खेल खेलिसकेको छ । बाँकी २ खेल नेपालले आयरल्यान्डको डब्लिनमा खेल्ने छ । आयरल्यान्ड ६, पपुवा न्यु गिनी ५, नामिबिया ३ र हङकङ ३ अंकसहित पहिलो चार स्थानमा छन् । ३ अंक नै भए पनि नेपाल रन रेटमा नामिबिया र हङकङभन्दा पछाडी छ । समूहको शीर्ष चार टोली दोस्रो चरणमा पुग्छन् ।

पपुवा न्यु गिनी, नामिबिया र हङकङले ३–३ खेल खेलेका छन् । हङकङले आयरल्यान्ड, नामिबिया र अमेरिकासँग खेल्न बाँकी छ । हङकङ त्यसमा २ खेलमा पराजय भएमा नेपालको दोस्रो चरणमा पुग्ने सम्भावना रहन्छ । त्यसबाहेक नेपालले पपुवा न्यु गिनी र जर्सीसँगको खेल जित्नु पर्नेछ ।

सिभिल सर्भिस मैदानमा नेपाली ब्याटिङ फेरी घुँडा टेक्न पुग्यो । फर्म नरहेका सुवास खकुरेलले प्रतियोगितामा पहिलो खेल खेल्ने मौका पाए । तर उनी ३ बलमा २ रन बनाएर आउट भए । नेपालले अनिल मण्डल र विनोद भण्डारीको स्थानमा सुवास र जितेन्द्र मुखियालाई खेलाएको थियो ।

दोस्रो ओभरमै उपकप्तान ज्ञानेन्द्र मल्ल खाता खोल्न नसकी आउट भए । कप्तान पारस खड्का ११ बल खेली १ रन बनाएर आउट भए । पावर प्लेमा १७ रनमात्र बनाउदा ३ विकेट गुमाईसकेको स्थितिले नेपाली ब्याटिङलाई चित्रण गरेको थियो । सातौं ओभरको पहिलो बलमा सागर पुन ११ रनमा आउट भए । वसन्त रेग्मीलाई पाँचौं नम्बरमा ब्याटिङ गर्न पठाइयो । २ चौका प्रहार गरेका उनी पनि ११ रनमै आउट भए ।

१५ ओभरमा नेपाल ५८–५ को स्थितिमा थियो । अन्तिम ५ ओभरमा ५१ रन जोडेर नेपालले स्कोर हेर्न लायक बनाएको थियो । राजेश पुलामीले २ छक्का प्रहार गरी ३५ बलमा २४ रन बनाए । दोस्रो अन्तिम ओभरमा आउट भएका शरद भेषावकरले नेपालबाट सर्वाधिक २७ रन बनाए । २४ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे । सोमपाल कामीले १२ बलमा १ छक्का प्रहार गरी १६ रन बनाए । हङकङका ओपनिङ बलर हासिब अमजादले ४ ओभरमा १६ रन खर्चेर ४ विकेट लिए ।

वसन्तले पनि यही प्रदर्शन गरे । जुन नेपाली खेलाडीको ट्वान्टी–२० मा उत्कृष्ट बलिङ प्रदर्शन हो । तर त्यो नेपालको हार जोगाउन पर्याप्त भएन् । सोमपालले दोस्रो ओभरमै हङकङका मुख्य खेलाडी इरफान अहमदलाई आउट गरेका थिए । तर अंशुमान रथले १९, निजाकत खानले २५, किन्चित शाहले १२ रन बनाउदै हङकङका आशालाई ब्युत्याए । बाबर हायत १७ र एजाज खान १४ रनमा नटआउट रहे ।

हङकङसँगको सवै खाले ट्वान्टी–२० मा नेपालले ४ विजय र ४ पराजयको नतिजा निकालेको छ । नेपालले शुक्रबार पपुवा न्यु गिनीसँग खेल्ने छ । पपुवा न्यु गिनीले बुधबार भएको खेलमा दाबेदार आयरल्यान्डलाई २ विकेटले स्तब्ध पार्‍यो । यसै समूहको अर्को खेलमा अमेरिकाले जर्सीलाई ५ विकेटले पराजित गर्‍यो । अमेरिका र जर्सीको २–२ अंक छ । – कान्तिपुरबाट


  •  
  •  
  •