विश्‍वकप क्रिकेट आजदेखि शुरु

146
  •  
  •  
  •  

काठमाडौं २ फागुन (एजेन्सी) : एक दिवसीय विश्वकप क्रिकेटको ११ औं संस्करण शनिबारदेखि अस्ट्रेलिया र न्युजिल्यान्डमा सुरु भएको छ। प्रतियोगिताको पहिलो दिनको खेलमा न्युजिल्यान्डको क्राइस्टचर्चमा न्युजिल्यान्ड र श्रीलंकाबीचको खेल सुरु भएको छ भने अस्ट्रेलियाको मेलबर्नमा अस्ट्रेलिया र इङ्ल्यान्डबीच खेल केहीबेरमा सुरु हुँदैछ।
प्रतियोगितामा टेस्ट मान्यताप्राप्त १० र एसोसिएट चार टोलीको सहभागिता रहनेछ। प्रतियोगिता ४५ दिनसम्म चल्नेछ। टेस्ट टोली विश्वकपमा सोझै छनोट भएका हुन् भने एसोसिएट टोलीको निर्क्योल वर्ल्‍ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिप र विश्वस्तरको छनोटमार्फत भएको हो।
प्रतियोगिताको फाइनल मार्च २९ तारिखमा अस्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा हुनेछ। प्रतियोगिताभर विभिन्न १४ वटा रंगशालामा ४९ खेल हुनेछन्। लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा पहिलो चरणमा दुईवटा समूह विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष चार टोली क्वार्टरफाइनलमा पुग्नेछन्।
समूह ‘ए’ मा इङ्ल्यान्ड, अस्ट्रेलिया, श्रीलंका, बंगलादेश, न्युजिल्यान्ड, अफगानिस्तान र स्कटल्यान्ड छन्। समूह ‘बी’ मा दक्षिणअफ्रिका, भारत, पाकिस्तान, वेस्टइन्डिज, जिम्बाब्बे, आयरल्यान्ड र यूएई छन्। यसपटकको विश्वकपमा सहभागी १४ वटै टोलीसँग यसअघि विश्वकप खेलेको अनुभव छ।
एक दिवसीय विश्वकप ११ औं संस्करणसम्म आइपुग्दा विभिन्न १९ वटा देशले खेलिसकेका छन्। हालसम्म अस्ट्रेलियाले चार, वेस्टइन्डिज र भारतले दुईदुई तथा पाकिस्तान र श्रीलंकाले एकएकपटक विश्वकप जितेका छन्।
टेस्ट टोलीमध्ये न्युजिल्यान्ड, बंगलादेश र जिम्बाब्बेमात्र हालसम्म फाइनलमा पुग्न सकेका छैनन्। यसपटक उच्च लयमा रहेका कारण अस्ट्रेलिया र दक्षिणअफ्रिकालाई बलियो दाबेदारका रूपमा हेरिएको छ।
साबिक विजेता भारत ब्याटिङक्रम बलियो भए पनि बलिङमा राम्रो प्रदर्शन गर्न सकिरहेको छैन। पछिल्ला दुई संस्करणको फाइनलसम्म पुगेको श्रीलंकासँगै इङ्ल्यान्डलाई पनि उपाधि दाबेदारका रूपमा हेरिएको छ।

  •  
  •  
  •