नेपाललाई त्रिकोणात्मक शृंखलाको उपाधि, भुर्तेल सर्वोत्कृष्ट खेलाडी

67
  •  
  •  
  •  

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि विकेट मैदानमा शनिबार भएको फाइनल खेलमा नेदरल्याण्ड्समाथि १४२ रनको जित निकाल्दै नेपालले प्रतियोगिताको उपाधि जितेको हो । नेदरल्याण्ड्सले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ३ विकेट गुमाएर २३८ रन बनाएको थियो ।

नेपालले दिएको २ सय ३९ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेदरल्यान्ड्सले १७ ओभर ७ बलमा अलआउट हुँदै ९६ रन मात्र बनाउन सक्यो । नेपालको जितका लागि करण केसीले ३, सन्दीप लामिछानेले २ र कमलसिंह ऐरीले २ विकेट लिए । नेदरल्याण्ड्स्सको २ विकेट रन आउटको रुपमा गुमेको थियो ।

नेदरल्याण्ड्स्सका लागि ओपनर सेबास्टीयन ब्राटले सर्वाधिक रन बनाए । ओपनर म्याक्स डोडले २० र पिटर सिलरले १३ रन जोडे । त्यसबाहेक अन्य ८ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर बनाउन सकेनन् ।

समूह चरणको दुई खेलमध्ये पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध ९ विकेटको सानदार जित हात पारेको थियो । नेदरल्याण्ड्सविरुद्ध दोस्रो खेलमा २०६ रन बनाउँदा पनि ३ विकेटको हार व्यहोरेको नेपालले फाइलनमा पनि नेदरल्याण्ड्सविरुद्ध विशाल स्कोर बनाउन सफल भयो । समूह चरणको खेलमा बलिङमा देखाएको गल्ती फाइनलमा नेपालले सुधार गर्दा ठूलो अन्तरको जित हात पर्‍यो ।

समूह चरणमा मलेसियाविरुद्धको पहिलो खेलमा ९ विकेट र दोस्रो खेलमा नेपालले ६९ रनको जित हात पारेको थियो ।
नेपालका ओपनर कुशल भुर्तेल सिरिजको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्। पाँच खेलमा चार अर्धशतक प्रहार गरेका कुशलले पल्सर एनएस २०० प्राप्त गरे।

प्रतियोगितामार्फत टी–२० मा डेब्यू गरेका उनले पाँच खेलमा चार अर्धशतक प्रहार गरे। उनले फाइनलमा ७७ रन बनाए। त्यसअघि समूह चरणमा उनले लगातार तीन अर्धशतक प्रहार गरेका थिए।
उनी प्रतियोगिताको सर्वाधिक रन प्रहार गर्ने खेलाडीको सूचीमा पहिलो स्थानमा रहे। उनले पाँच खेलमा कुल २७८ रन हाने। उनी डेब्यूमा लगातार तीन अर्धशतक प्रहार गर्ने पहिलो खेलाडी हुन्।


  •  
  •  
  •