युवाको रोजाइः सिलाईकटाई

249
  •  
  •  
  •  

Telaringओखलढुंगा, ९ बैशाख(ओएनएस) : ओखलढुंगाको सदरमुकास्थित गणेशटोलकी शशीकला श्रेष्ठ भट्टराई प्रायः कपडा सिलाउनमै व्यस्त हुन्छिन् । १३ वर्ष अघि सीप सिकेर थालेको यो पेशाबाट उनले राम्रो आम्दानी गरेर घरखर्च धानेकी छिन् । व्यवसाय शुरु गर्दा समाजमा नकारात्मक रुपमा लिए पनि उनी आफ्नो व्यवसायप्रति सन्तुष्ट छिन् । शुरूमा नकारात्मक रुपमा लिएपनि अहिले सदरमुकामका अधिकांश युवायुवतीहरुले सिलाईकटाई व्यवसाय संचालन गरेको उनले बताइन् । श्रेष्ठले आफ्नो व्यवसायसँगै तालिम पनि दिँदै आएकी छन् ।

प्रिन्स सिलाईकटाई प्रशिक्षण केन्द्र खोलेर प्रशिक्षक बनेकी श्रेष्ठ भन्छिन्, ‘बिहानदेखि राम्ररी खटेर काम गर्ने हो भने श्रीमानको भन्दा टेरलबाट धेरै आम्दानी हुन्छ ।’ उनका श्रीमान् विकास भट्टराई रेडक्रसमा जागिरे छन् ।

ज्यामिरे गाविसका युवा शुक्रराज विक शारीरिक रुपमा असक्त छन् । उनले सात वर्ष अघि सिलाईकटाईको सीप सिकेर यही व्यवसायबाट स्वरोजगार बनेका छन् । शुरूमा सीप सिकेर अरुको टेलरमा प्रशिक्षकको रुपबाट काम शुरु गरेका उनी अहिले आफैले व्यवसाय चलाएका छन् । ‘यो पेशाबाट कुनै जागिरेको भन्दा कम आम्दानी हुँदैन’, उनी भन्छन् ।

[box type=”shadow” align=”alignright” width=”400px” ]समाजमा कथित तल्लो जातका मानिसहरुले मात्रै कटाइ सिलाई व्यवसाय गर्नुपर्छ भन्ने गलत मानसिकताका कारण अपहेलित बनेको यो व्यवसाय अहिले उपल्लो जातिका तन्नेरीहरुको रोजाइमा परेको छ । [/box]

सिलाईकटाई सीप सिकेर ओखलढुङ्गा ६ भिमलटोलकी कोपिला श्रेष्ठ त व्यावसायिक तथा सीप विकास तालिम केन्द्र ओखलढुङ्गामा प्रशिक्षक नै बनेकी छन् । अहिले उनले कार्यालयको समयपछि प्रशिक्षण केन्द्र खोलेर सिलाईकटाईको प्रशिक्षण दिइरहेकी छन् । प्रशिक्षण केन्द्रमा प्रशिक्षण दिँदै भेटिएकी उनले जागिरको तलबभन्दा कम आम्दानी नहुने बताइन् ।

तयारी पोशाक तालिम लिएपछि सदरमुकाम ओखलढुंगामा शशी, शुक्रराज र कोपिला जस्ता थुप्रै युवा स्वरोजगार बनेका छन् । यो व्यवसायमा राम्रो आम्दानी भएपछि युवाहरु त्यसतर्फ आर्कषित भएका हुन् । पहिले–पहिले समाजमा कथित तल्लो जातका मानिसहरुले मात्रै कटाइ सिलाई व्यवसाय गर्नुपर्छ भन्ने गलत मानसिकताका कारण अपहेलित बनेको यो व्यवसाय अहिले तन्नेरीहरुको रोजाइमा परेको छ ।

कथित दलित जाती त्यसभित्र पनि दमाइ (परियार)ले मात्र अंगाल्दै आएको यो पेशामा अहिले दलित मात्रै नभएर माथिल्लो जातका थुप्रै युवा सहभागी छन् । चेतनामा आएको परिवर्तनसँगै अहिले यो सबैको रोजाइको पेशा बनेको हो । यसले एकातिर युवाहरुलाई स्वरोजगार बन्न सहयोग पुगेको छ भने अर्कोतर्फ समाजमा रहेको पुराना मान्यतालाई चिर्न सफल भएको ओखलढुङ्गा बजारमा सिलाईकटाई व्यवसाय गर्दै आएका झापाका हरि थापा बताउँछन् ।

tailoringयो पेशा व्यावसायीक बनेपछि गाउँमा विद्यमान बालीघरे प्रथा हट्न थालेको दलित अधिकारकर्मी बलबहादुर परियार बताउँछन् । परियार भन्छन्, ‘सबैले सिलाईको कपडा थान अनुसार ज्याला लिन थालेपछि गाउँमा पनि यसले सकारात्मक प्रभाव पारेको छ ।’ कटाई सिलाइ व्यावसायीक हुन थालेपछि सीप भएका जाँगरिला युवाहरुलाई विदेशिनबाट रोक्न सफल भएको टिएन टेलरिङ सेन्टरका सञ्चालक इन्द्रबहादुर नेपाली बताउँछन् ।

शारीरिक श्रम कम पर्ने, सीप सिकेपछि थोरै लगानीमा व्यवसाय सञ्चालन सकिने भएकाले पनि यसले वेरोजगार युवाहरुको ध्यान खिचेको छ । सुखी पेशाको रुपमा लिइने तयारी पोशाक व्यवसायबाट राम्रो आम्दानी भएपछि युवाहरुको आर्कषण बढेको वयावसयिक तथा सीप विकास तालिम केन्द्रका केन्द्र प्रमुख भविन्द्र कुमार खत्रीले बताए ।

केन्द्रबाट आर्थिक वर्ष ०५५/०५६ यता हरेक वर्ष कटाइ सिलाई प्रशिक्षण संचालन हुने गरेको छ । जिल्लामा केन्द्रबाट यो सीप सिकेका ७ सय ४४ जनामध्ये २ सय ४५ जना रोजगार बनेका छन् । कतिपय केन्द्रको प्रशिक्षक भएका छन्, भने कतिले प्रशिक्षण केन्द्र संचालन गरेका छन् ।


  •  
  •  
  •