सरकारलाई एमालेको कडा चेतावनी

257
  •  
  •  
  •  

काठमाडौँ, १४ मंसिर : नेकपा एमालेले सरकारलाई हैसियत र सीमा नमिच्न चेतावनी दिएको छ । काम चलाउ सरकारले सीमा मिचेर जथाभावी निर्णय गरेको निष्कर्ष निकाल्दै एमालेले सीमा नमिच्न सचेत समेत गराएको छ । बिहीबार बिहान बसेको एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठकले आचारसंहिता विपरित काम गर्ने सरकारको कदमप्रति आपत्ति जनाउँदै हस्तक्षेप गर्न निर्वाचन आयोगको समेत ध्यानाकर्षण गराएको छ ।

आचारसंहिताविपरीत राज्यकोष दुरुपयोग गर्ने र प्रशासनिक संयन्त्रलाई भताभुङ्ग पार्ने कार्य तत्काल रोक्न एमालेले माग गरेको छ । ‘निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकारले अनाधिकृत रुपमा राज्यकोषको दुरुपयोगलाई निरन्तरता दिइरहेको छ । निर्वाचनलाई प्रभावित गर्ने उद्देश्यले कांगे्रसका कार्यकर्ताहरुलाई प्रधानमन्त्री स्वयंको निर्देशनमा गृहमन्त्रालय तथा प्रधानमन्त्री राहत कोषबाट १६ करोडभन्दा बढी रकम बाँडिएको छ । निजामति तथा प्रहरी प्रशासनको संरचनामा अनावश्यक भद्रगोल सिर्जना गरिंदैछ ।’ कमिटीका प्रवक्ता विष्णु रिमालले भने ‘हामीलाई जानकारी भएअनुसार नेपाल प्रहरीमा चारजना प्रहरी महानिरीक्षकको दरबन्दी सिर्जना गरी प्रहरी प्रशासनलाई अनावश्यक रुपमा भत्काउन खोजिदैछ । सरकारको यस्ता कामप्रति एमाले कडा शब्दमा विरोध गर्दछ ।’


  •  
  •  
  •