काठमाडौ, २४ चैत(ओएनएस) : नेकपा एमाले पोलिटब्युरो बैठक आज पनि बस्दैछ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज दिउँसो १ बजेबाट सुरू हुने बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार प्रस्तुत गरिएको प्रतिवेदनमाथि छलफल हुनेछ । १२ पेज लामो प्रतिवेदनलाई पोलिटब्युरो बैठकले पारित गरेपछि केन्द्रीय समिति बैठकमा पेश गरिनेछ ।
अध्यक्ष ओलाले प्रस्तुत गरेको प्रतिवेदनमा पार्टी सञ्चालन, सरकारको समिक्षा, भारतसँगको सम्बन्ध र नाकाबन्दी पछिको अवस्था, अबको राजनीतिमा कांग्रेससँगको सहकार्यका विषयमा उल्लेख गरिएको छ । सदस्यहरुले यी विषयमा चासो राखेपछि प्रतिवेदनमा समावेस गरिएको बताइएको छ ।
एमालेले पार्टीभित्र देखिएको मनोनयन बारेको विवाद मिलाउन महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा हिजो तीन सदस्यीय कार्यदल गठन गरेको छ । विवादका कारण केन्द्रीय विभाग, सल्लाहकार र अञ्चल कमिटीका सदस्यको मनोनयन हुन सकेको छैन ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले पोखरेलको संयोजकत्वमा सचिव पृथ्वी सुब्बा गुरुङ र गोकर्णराज विष्ट सदस्य रहेको कार्यदल गठन गरेको हो ।