एमाले केन्द्रीय समितिको बैठक केहिबेर बसेर स्थगित

218
  •  
  •  
  •  

cpn-uml-central-committeकाठमाडौं, २२ मंसिर (ओएनएस) : नेकपा एमालेको केन्द्रीय कमिटिको सोमबारको लागि बोलाइएको बैठक केहिबेर बसेर स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीले संविधान निर्माण प्रक्रियालाई अघि बढाउन दलहरुबीचको छलफललाई प्राथमिकता दिन बताएपछि बैठक बुधबार बस्नेगरी स्थगित भएको हो ।

११ बजेको लागि बोलाईको बैठक १ बजे सुरु भएको थियो । बैठक सुरु भएपछि अध्यक्ष ओलीले संविधान निर्माणलाई प्राथमिकता दिनको लागि बैठक सार्ने प्रस्ताव गरेका थए । ओलीले संविधान निर्माणमा निर्णायक भूमिका निर्वाह गर्नको लागि केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका थिए ।

अध्यक्ष ओलीले पार्टीले वर्तमान सरकारको परिवर्तन नभई विस्तारका लागि प्रयास अघि बढाइरहेको अवगत गराएका थिए । पार्टीको नवौं महाधिवेशनपछि स्थायी कमिटी, पोलिटब्युरो चयन, जिम्मेवारी बाँडफाँडलगायतका विषयमा निर्णय नगरी यसअघि बैठक पटकपटक स्थगित भएको थियो ।

संविधान निर्माणमा पार्टीलाई केन्द्रित गर्ने भन्दै एक महिनाअघि तेस्रो पूर्ण केन्द्रीय कमिटीको बैठक स्थगित भएको थियो । सोमबारको बैठकमा पनि समसामयिक राजनीतिक स्थिति, संविधान निर्माणबारे भएका वार्ता र जिम्मेवारी बाँडफाँडका विषयमा छलफल हुने कार्यक्रम थियो ।

यसअघि आइतबार बसेको पदाधिकारी बैठकले एजेण्डा तय गर्ने जिम्मा अध्यक्ष केपी शर्मा ओलीलाई दिएकोथियो ।ओली पक्षका एक नेताका अनुसार अध्यक्ष ओलीले माधव नेपालले पेश गरेको असन्तुष्टिका सात बुँदालाई सम्वोधन गर्दै बैठक सन्चालन गर्ने तयारी गरेका थिए । आइतबारको पदाधिकारी बैठकबाट स्थायी कमिटी र पोलिटब्युरो निर्वाचन कसरी गर्नेबारे कुनै टुंगो लाग्न भने थिएन ।


  •  
  •  
  •