धर्म निरपेक्षताबारे एमालेमा नयाँ बहस

121
  •  
  •  
  •  

umlकाठमाडौ, १ माघ : एमाले स्थायी समिति बैठकमा धर्म निरपेक्षताविरुद्ध अभियान चलाइरहेका मोदनाथ प्रश्रितले आमन्त्रित सदस्यका रूपमा आफ्ना धारणा राख्दै धर्म निरपेक्षताको निर्णय फिर्ता लिन सुझाव दिएका छन्।

बहुमतीय आधारमा माघ ८ मै नयाँ संविधानको मस्यौदा ल्याउन लागिपरेका एमाले नेताहरूलाई उनले पौने घन्टासम्म आफ्नो धारणा सुनाएका थिए। एमालेको सक्रिय राजनीतिबाट सात वर्षअघि अवकाश लिएका उनी संविधानमा धर्म निरपेक्षता लेख्न नहुने अभियानमा सक्रिय छन्। उनी पृथ्वीनारायण शाहलाई राष्ट्रनिर्माताका रूपमा सम्मानित गर्नुपर्ने अभियानका अगुवा पनि हुन्।

‘मलाई अध्यक्ष केपी शर्मा ओलीले सोमबार फोन गरी स्थायी कमिटी बैठकमा आमन्त्रण गर्नुभएको हो’, बैठकपछि प्रश्रितले भने, ‘आज पौने घन्टासम्म इतिहास र नेपालका धर्मबारे जानकारी गराएँ, समय अपुग भएकाले माघ ४ गतेको बैठकमा पुन: आमन्त्रण गर्नुभएको छ।’

एमाले मुख्यालय, बल्खुमा बुधबार बसेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावलले संविधान निर्माणमा भइरहेका वार्ताबारे जानकारी गराएका थिए। त्यसपछि प्रश्रितका कुरा सुनेर बैठक सकिएको सचिव योगेश भट्टराईले जानकारी दिए।

बैठकमा प्रश्रितलाई समय दिँदै ओलीले भनेका थिए, ‘अब कमरेड मोदनाथ प्रश्रितलाई आफ्ना धारणा राख्न समय दिन्छु।’

अध्यक्षले किन प्रश्रितलाई त्यहाँ आमन्त्रण गर्नुपरेको भन्ने केही पनि उल्लेख नगरेको अर्का एक सचिवले बताए। २०६५ सालमा राजनीतिबाट अवकाश घोषणा गर्नुअघि स्थायी समिति सदस्य रहेका उनी एमालेको नौमहिने सरकारमा शिक्षामन्त्री थिए।

‘मैले नेपालको धार्मिक इतिहासबारे सर्सर्ती बताएँ। धर्म निरपेक्ष भन्दा राष्ट्रलाई घाटा लाग्छ।’, प्रश्रितले भने, ‘त्यसको साटो बरु धार्मिक स्वतन्त्रता भनिदिऔं, संविधानमा धर्म निरपेक्ष नलेखौं। बलजफ्ती धर्म परिवर्तनको विरोध गरौं।’

उनले अन्तरिम संविधानपछि नेपाल धर्म निरपेक्ष घोषणा भए पनि धर्मले राज्यलाई निरपेक्ष बनाउन नसकेको उल्लेख गर्दै भने, ‘लुम्बिनी विकासका लागि करिब ५० करोड, पशुपति क्षेत्र विकास कोषका लागि १७-१८ करोड, मठमन्दिर निर्माणका लागि १०-१२ करोड छुट्ट्याइएको छ।

मुस्लिम समुदायका प्रतिनिधिहरूलाई हज पठाउन पनि बजेट छुट्ट्याइएको छ। त्यसो भएकाले यो धर्म निरपेक्ष त भएन, धर्मसँग राज्य गाँसियो।’

उनले धर्म निरपेक्ष भनेको राज्यले धर्मका लागि खर्च नगर्ने र धर्मबाट आम्दानी पनि नलिने कुरा भएको बताए।

प्रश्रितले नेपालका तीर्थस्थलमा लाखौं धार्मिक पर्यटक आउने हुनाले धर्म निरपेक्ष घोषणा गर्दा राज्यलाई नोक्सान पर्ने बताए। उनले भने, ‘आँखा चिम्लेर नबुझी-नबुझी धर्म निरपेक्ष घोषणा गरियो। यो देश धर्म निरपेक्ष हुनै सक्दैन।’

प्रश्रितले नेपालमा पाँचवटा धर्म जन्मिएको सविस्तार बताए। ‘एउटा देवी धर्म छ, त्यसलाई शाक्त धर्म भनिन्छ। शैव धर्म जन्मिएको छ, हाम्रो देशमा पशुपतिनाथ छन्’, उनले भने, ‘शाक्तको प्रतिनिधि पार्वती हुन्, जसलाई हामी शैलपुत्री भन्छौं।

तेस्रो, वैदिक धर्म यहीं जन्मियो। याज्ञवल्क्यले यहीं ऋग्वेद लेखेर चार किसिमका वर्णव्यवस्था स्थापना गरे।’ उनले वैष्णव धर्मको उत्पत्ति पनि नेपालमै भएको बताए। ‘कताबाट आयो भने, रामले जनकपुरमा बिहे गरे।

पछि सीतालाई त्याग गरे। त्यागपछि सीता यहीं वाल्मीकि आश्रममा बसिन्, नवलपरासीको वाल्मीकिनगरमा। वाल्मीकिले सीताले भनेअनुसार रामायण लेखे’, उनले भने, ‘त्यही रामायणबाट वैष्णव धर्म विकास भएको हो।

त्यसको पनि मूल जरो यहीं छ। बुद्ध धर्म त यहीं जन्मिएको हो।’ प्रश्रितले धर्म निरपेक्षताको साटो यत्तिका धर्म जन्माउने देशलाई धार्मिक विशेषतासँग जोड्नुपर्ने बताए। अन्नपूर्णबाट


  •  
  •  
  •