काठमाडौँ, २७ मङ्सिर (ओएनएस) : नेकपा एमालेको पोलिटब्युरो सदस्यको निर्वाचन आइतबार हुने भएको छ । शुक्रबार केन्द्रीय समितिको बैठकले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाललाई सहमतिमा पोलिटब्युरो सदस्य चयन गर्ने जिम्मा दिएको थियो । तर दुबै नेताहरुले शनिबार समति गर्ने प्रयास गरेपनि निश्कर्षमा नपुगेपछि चुनावी प्रक्रिया आइतबारको लागि सारिएको हो ।
पोलिटब्युरो सदस्यहरूको चयन भएपछि स्थायी कमिटी चयन गर्ने अभ्यास भए पनि सहमतिको वातावरण तयार गर्न पहिला स्थायी कमिटीको चयन गर्न नेताहरूबीच छलफल भइरहेको छ । आयोगले मतदाता नामावली भने शुक्रबार नै प्रकाशन गरिसकेको छ ।
भोलि बिहानसम्म सहमति नभएमा निर्वाचनबाट चयन गराउन निर्वाचन आयोग तयार रहेको छ । केन्द्रीय कमिटीको जारी चौथोे बैठकद्वारा गठित कार्यदलका तर्फबाट उपाध्यक्ष भीम रावलले प्रतिवेदन प्रस्तुत गरेपछि वैकल्पिक केन्द्रीय सदस्यलाई पनि पोलिटब्युरो सदस्यमा उम्मेदवार हुन पाउने योग्यता निर्धारण गरिएपछि सहमतिका लागि नेताहरू तयार भएका हुन् ।
दुवै निकायको चयन वरिष्ठता र क्षमताका आधारमा गरिने तयारी भएको छ । गत असारमा सम्पन्न पार्टीको नवौँ महाधिवेशनमा अध्यक्षमा ओली र नेपाल समूहबीच प्रतिस्पर्धा भएका कारण छ महिना बित्न लाग्दा पनि आन्तरिक जीवनमा त्यसको नकारात्मक असर परेकाले शीर्ष नेताबीच सहमतिका लागि पहिलोपटक प्रयास गरिएको हो ।
पार्टी विधानको व्यवस्थाअनुसार केन्द्रीय कमिटीका ११७ जना पूर्ण सदस्यले मतदाताका रूपमा मताधिकार प्रयोग गर्न सक्ने र स्थायी कमिटीको उम्मेदवार हुन केन्द्रीय कमिटीको पूर्ण सदस्य भई एक कार्यकाल पूरा गरेको हुनुपर्ने तथा पोलिटब्युरो सदस्यको उम्मेदवार हुन केन्द्रीय कमिटीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने छ ।
पोलिटब्युरोका लागि २३ जना पूर्ण तथा १५ जना वैकल्पिक सदस्यको चयन हुनेछ । कुल १६ जना पदाधिकारी र पदेन सदस्य हुनेछन् । पोलिटब्युरो र स्थायी कमिटी चयन नहुँदा महत्वपूर्ण निर्णयमा अध्यक्ष ओलीले आफूखुसी गरेको भन्ने विषयमा उठेका प्र्रश्नबारे आगामी दिनमा संस्थागत प्रक्रियालाई व्यवस्थित बनाउने प्रतिबद्धतासँगै आपसी सहमतिमा ती निकायमा चयन गरी कार्य विभाजन गर्न नेताहरू तयार देखिएका छन् ।