एमालेभित्र विचारमा एकमत, नेतृत्वमा विवाद : पशुपति

162
  •  
  •  
  •  

pasupati

काठमाडौं, ३ असार (ओएनएस) एमाले पोलिटव्यूरो सदस्य पशुपति चौलागाईले पार्टीभित्र विचारमा एक मत भएको तर नेतृत्वमा मात्र विवाद बाँकी रहेको बताएका छन्
नेपाल पक्षीय नेता चौलागाईले नेतृत्वमा विवाद भएपनि जनताको बहुदलीय जनवादको कार्यदिशा र पुर्नपुष्टि गर्ने काम माधवकुमार नेपालले गरेकोले नेपालकै नेतृत्वमा अझै शसक्त बनाउनु पर्नेमा जोड दिएका छन् ।

मंगलवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै चौलागाईँले सर्वसम्मत भए अध्यक्षमा झलनाथ खनाल आफैले पुन नेतृत्व गर्ने तर, सहमति हुन नसके माधवकुमार नेपाललाई समर्थन गर्ने जिकिर गरे ।

उनले कम्यूनिष्टहरुलाई नेतृत्व गर्न सक्ने, उग्रवामपन्थ, दक्षिणपन्थसँग लड्न सक्ने विचार बोकेको र शान्तिको लागि त्याग गरेको नेता नेपाल भएकोले पार्टीलाई अझै उच्च बनाउन नेपालको नेतृत्व आवश्यक रहेको तर्क गरे ।

नेपाल पक्षकै अर्कै नेता रघुजी पन्तले भने केपी ओलीको अस्वस्थताले अध्यक्ष बन्न नदिने भन्दै पूर्ण स्वस्थ भएपछि प्रधानमन्त्री वा राष्ट्रपति बनाउनु पर्ने प्रस्ताव अघि सारे ।
उनले केपी ओलीले अहिलेसम्म स्वास्थ्यकै कारण संसदीय दलको बैठकको अध्यक्षता समेत गर्न नसकेको तर्क गर्दै ओलीले पार्टीको नेतृत्व गर्न नसक्ने भएकोले माधवकुमार नेपाल सर्वसम्मत रुपमा अध्यक्ष बन्ने दावी गरे । पन्तले भने, ‘ओलीले संसदीय दलको अध्यक्षता गर्न सक्नु भएको छैन । केन्द्रीय समितिको बैठकमा उस्थित हुन सक्नु हुन्छ । कुनै कार्यक्रममा लानु परे पनि पुरै स्टेजभरी औषधी छरेर मात्र लानु पर्छ । मुलुक जटिल अवस्थामा रहेको यो बेलामा उहाँले कसरी पार्टीको नेतृत्व गर्न सक्नु हुन्छ ?’
कार्यक्रममा ओली पक्षीय नेता रघुवीर महासेठले ओली विचारमा स्वस्थ भएका विचारक नेता भएको उल्लेख गर्दै ै माधवकुमार नेपाल कहिल्यै पनि विचारक नभई विचारकका सहयोगी मात्र भएकोले पार्टीको नेतृत्व गर्न नसक्ने दावी गरे ।

उनले झापा आन्दोलनदेखिनै ओलीको विचारमा अहिलेसम्म पार्टी चलेको उल्लेख गर्दै जवज निर्माणमै मदनभण्डारीलाई सहयोग गर्ने नेता भएकोले पार्टीको नेतृत्व गर्न ओली सक्षम रहेको तर्क गरे ।

अर्का ओली पक्षीय नेता कर्णबहादुर थापाले नेपालमा बामपन्थी आन्दोलनलाई नजिकबाट नियालेको, जवज प्रणालीको विकासमा भूमिका खेलेको नेता भएकोले ओलीको नेतृत्वको विकल्प नभएको भन्दै ओली जीवित आन्दोनकारी, विचारमा अविचलित, अडान भएको नेता भएको बताए ।

उनले आठौ महाधिवेशन पछि पनि आन्तरिक पार्टी परिचालन ओलीले नै गरिरहेको दावी गर्दै भने–सबै रोगि हुन्छन । विपक्षिहरु विरामी परिघटनालाई उचालेर मान्छेलाई भ्रममा पार्दैछन । ओली अहिले पनि हामि भन्दा बढी सक्रिय हुनु हुन्छ । दृष्टि खराव भएकाहरुले ओलीलाई विरामी देख्दैछन ।


  •  
  •  
  •