एमालेले भन्यो–आतंकित बनाउने सरकारी योजना त होइन ?

312
  •  
  •  
  •  

काठमाडौँ, २९ कात्तिक (ओएनएस) :
एमाले केन्द्रीय निर्वाचन परिचालन कमिटीले शान्तिपूर्ण वातावरणमा मतदान गर्ने अवस्थाको सिर्जना र उम्मेदवारले निर्भयताका साथ चुनावी प्रचार–प्रसार गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ । कमिटीका प्रवक्ता विष्णु रिमालले बुधबार विज्ञप्ती जारी गरेर भनेका छन ‘सरकारको यो रवैया कतै उम्मेदवारको सुरक्षा नदिई आतंकित बनाउने योजना त होइन भन्ने आशंका पैदा गरेको छ । हामी यो रवैया तत्काल सच्याउन सरकारलाई सचेत गराउन चाहन्छौं ।’ आक्रमणको जिम्मेवारी अमुक पार्टीलाई लिन लगाउँदै सरकार रमिते बनेर बस्नुले कतै सरकार आफै घटनाको योजनाकार त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको समेत विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्ती जस्ताको तस्तैः
आगामी मङ्सिर १० र २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै जाँदा देशभर वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरूमाथि साङ्घातिक आक्रमण र धम्कीका घटनाहरू बढन थालेका छन । पछिल्लो समय सरकारबाट संरक्षित र उक्साहटमा विभिन्न घटनाहरू घटिरहेको अनुभुति हामीलाई हुन थालेको छ । चुनावी अभियान जारी रहँदा हाम्रो पार्टीका बैकल्पिक पोलिटब्युरो सदस्य, पूर्वमन्त्री तथा भोजपुर १ बाट प्रदेश सभा सदस्यका उम्मेदवार शेरधन राईमाथि कात्तिक २८ गते बिहान साङ्घातिक आक्रमण भएको छ । आक्रमणमा उहाँ सकुशल रहेपनि अंगरक्षक घाइते हुनुभएको छ । चुनावी अभियानमा अवरोध पु¥याउन भएको उक्त आक्रमणको जिम्मेवारी अमुक पार्टीलाई लिन लगाउँदै सरकार रमिते बनेर बस्नुले कतै सरकार आफै घटनाको योजनाकार त होइन भन्ने गम्भीर प्रश्न उब्जिएको छ ।

हिजै संखुवासभामा पनि कांग्रेस कार्यकर्ताबाट एमाले कार्यकर्तामाथि आक्रमण भएको छ भने सुनसरी ३ का उम्मेदवार एमाले केन्द्रीय सदस्य भगवती चौधरीलाई कांग्रेस उम्मेदवारको नाम लिएर अभियान नरोके परिवारका सबै सदस्यमाथि आक्रमण गर्ने धम्की दिइएको छ । चौधरीमाथि मनोवैज्ञानिक दबाब दिने उद्देश्यले चुनावी प्रचारमा हिँड्ने कार्यकर्ता र सहयोगीलाई धम्क्याउने काम स्वच्छ र निष्पक्ष निर्वाचन हुन नदिने श्रृङ्खलावद्ध योजनाअन्तर्गत भएको हाम्रो बुझाइ रहेको छ । हामी यस्ता अराजनीतिक काम तत्काल बन्द गर्नका लागि समयमै सचेत गराउन चाहन्छौं ।

वामपक्षीय लोकतान्त्रिक गठबन्धन बनेपछि मुलुकभर जनतामा छाएको उत्साहबाट आतंकित बनेर सरकार र नेपाली कांग्रेस यस्तो अराजनीतिक काम गरिरहेको सूचनाहरू पाइएको छ । हाम्रो पार्टीका प्रदेश २ संयोजक तथा स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलमाथि सुरक्षा थ्रेट रहेको प्रहरी प्रशासनले नै जानकारी दिइसकेको अवस्थामा सरकारले उहाँलाई अंगरक्षक उपलब्ध गराउन आनाकानी गरिरहेको छ । सरकारको यो रवैया कतै उम्मेदवारको सुरक्षा नदिई आतंकित बनाउने योजना त होइन भन्ने आशंका पैदा गरेको छ । हामी यो रवैया तत्काल सच्याउन सरकारलाई सचेत गराउन चाहन्छौं ।

सरकार निर्वाचन सम्पन्न गराउने काममा केन्द्रित हुन छाडेर आचारसंहिता उल्लंघन गर्ने, कर्मचारीमा सरुवा आतंक मच्चाउने र बिप्लव माओवादीको नाममा बाम गठबन्धनका उम्मेदवारमाथि भौतिक आक्रमणसमेत गराउन उद्दत हुन थालेको आभाष पछिल्लो दिनका घटनाक्रमले देखाएको छ । यस्ता काम बन्द गरी जनतालाई शान्तिपूर्ण वातावरणमा मतदान गर्ने अवस्थाको सिर्जना र उम्मेदवारले निर्भयताका साथ चुनावी प्रचार–प्रसार गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गर्न चाहन्छौं ।


  •  
  •  
  •