विशेष महाधिवेशन गर्ने शर्तमा भट्टराईले वार्ता गर्ने

279
  •  
  •  
  •  

काठमाडौं, १ भदौ (ओएनएस) : एमाओवादी नेता डा. बाबुराम भट्टराईले विशेष महाधिवेशनको माग गर्दै अध्यक्ष पुष्पकमल दाहालसँग वार्ता गर्ने भएका छन् । डा. भट्टराईले तत्काल विशेष महाधिवेशन गर्न संस्थापन पक्ष तयार भए आफूले गठन गरेका सबै समानान्तर कमिटी भंग गर्न तयार हुनेगरी वार्ता गर्ने भएका हुन् । ‘विशेष महाधिवेशन गर्ने शर्तमा हामीले संस्थापन पक्षसँग वार्ता गर्ने तयारी गरेका छौं, एक नेताले भने,‘विशेष महाधिवेशन गर्न दुवै पक्षले सबै कमिटीहरु भंग गर्नुपर्छ ।’

यसैबीच धनुषा जिल्लामा समानान्तर जिल्ला कमिटी गठन गरेको अभियोगमा कारवाही गरिएका दुई जना नेता रामरिझन यादव र गंगा श्रेष्ठमाथिको कारवाही फिर्ता नभएको बताइएको छ । शनिवार एमाओवादीले बाबुराम भट्टराई पक्ष कुनैपनि नेतालाई कारवाही नगरिएको जनाएको थियो । भट्टराई पक्षका एक नेताका अनुसार रामरिझन यादव र गंगा श्रेष्ठमाथिको कारवाही भने फिर्ता नभएको संस्थापन पक्षले जनाएको छ । कारवाही गरिएका भनिएका अन्य नेता टोपबहादुर रायमाझी तथा देवेन्द्र पौडेललाई भने कुनै कारवाही नगरिएको संस्थापन पक्षले जनाएको छ ।

‘लगातार तीन पटकसम्म कुनै पनि बैठकमा सहभागी नहुने नेताको पद स्वत खारेज हुने कुरा विधानमा उल्लेख भएको कुरा साथीहरुले उठाउनु भएको हो, एक नेताले भने,‘तर, उहाँहरुमाथि कारवाही भएको होइन ।’


  •  
  •  
  •