काठमाडौं, ८ कार्तिक (ओएनएस) : नेकपा (क्रान्तिकारी माओवादी) का बरिष्ठ नेता सिपी गजुरेलले कहिलेकाहीँ त आफूहरुलाई कम्युनिष्ट भन्नपनि लाजै लाग्ने अवस्था अाएकाे बताएका छन्। बुधबार काठमाडौमा आयोजित कार्यक्रममा बरिष्ठ नेता गजुरेलले भने,‘नेकपाले पनि हामी कम्युनिष्ट भन्छ । अहिले नेकपाकै सरकार छ । जनताले यो सरकारलाई थुकिराखेका छन् । त्यसैले कहिलेकाहीँ कम्युनिष्ट भन्नपनि हामीलाई लाजै लाग्छ ।’
उनले अब यो सरकारलाई हटाउने एउटै उपाय अब सडक आन्दोलनमात्रै रहेको सुनाए । उनले भने,‘सडक आन्दोलनबाटमात्रै सरकार हटाउन सकिन्छ । हिजो सडक आन्दोलनबाट पञ्चायत ढल्यो। राजतन्त्र ढल्यो । ओली नेतृत्वको सरकारलाई संविधानतः हटाउनै सकिँदैन् । अब सडकबाटमात्रै हटाउन सकिन्छ । यो ७ महिनामा हामीले धेरै भोगिसकेका छौं । यो संविधान जनताको पक्षमा छैन् । खारेज गर्नुपर्छ । जनगणतन्त्र संविधान बनाउनुपर्छ । यो संविधान त्यस्तो छैन् ।’
सत्तामा नभएका वामपन्थीहरुसँग आफ्नो पार्टीले एकताको लागि वार्ता तथा छलफल गरिरहेको उनले सुनाए । उनले भने,‘एक राउण्ड छलफल हामीले विप्लवजीसँग पनि गर्यौं । मोहनविक्रम सिंहसँगपनि गर्यौं । ऋषि कट्टेलजीसँग वार्ता गर्यौं । अहिले वार्ता तथा छलफल परिपक्व भैसकेको छैन् । हामीसँग वैचारिक मतभिन्नताहरु छन् । तर, कार्यगत एकता गर्यौं । केही समय यता विप्लवसँग कार्यगत एकता अगाडि बढ्न सकेको छैन् । विप्लवका नेताहरुलाई सरकारले धरपकड गरेकोले अहिले हाम्रो सम्पर्क टुटेको छ।’
उनले आफ्नो तर्फबाट पार्टीले जनताको बिचमा कुराहरु राख्दै जाने पनि सुनाए । उनले भने,‘हामी देश र जनताविरुद्ध हुने सबै खाले षड्यन्त्र, राष्ट्रघात र जनघातहरुको भण्डाफोर गर्दै जान्छौं । अहिले हामी आन्तरिक रुपमा कमजोर छौं । संगठन बनाउन हामी लागिपरिरहेका छौं। सडक आन्दोलन त हामीले गरिरहेका छौं । तर, ठूलो आन्दोलन र आमसभा गर्ने स्थिति अहिले हाम्रो छैन् ।’ यद्धपी उनले आफ्नै पार्टीको शक्तिमा भरपर्दै अगाडि बढ्ने आफूहरुको रणनीति रहेको पनि सुनाए ।