सहमति विना संविधान ल्याए जलाउँछौः गजुरेल

92
  •  
  •  
  •  

संखवासभा ७ भदौ (ओएनएस) : नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेलले संबिधानसभाले राष्ट्रिय सहमती बेगरको संबिधान ल्याए तुरुन्तै जलाउने चेतावनी दिएका छन् ।
खाँदबारीमा क्रान्तिकारी पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकारले राष्ट्रियहित र जनताको माग बिपरीतको पश्चगामी संबिधान जारी गर्ने तयारी गरेकाले त्यस्तो संबिधान ल्याए केही बेरमै आगो लगाएर आन्दोलन शुरु गर्ने तयारीमा आफूहरु जुटेको चेतावनी दिए ।

सङ्खुवासभा र भोजपुरका अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा खाँदबारी पुग्नुभएका गजुरेलले एकल जातीय नभई पहिचान सहितको संघियता माग गर्दै १० बर्षसम्म जंगलबाट आन्दोलन गरेको उल्लेख गर्दै उहाले एकलौटी तरिकाले संबिधान लेख्ने तयारी गरेको आरोप लगाए। सरकारले संबिधानसभामा आउन अनुरोध गरेको उल्लेख गर्दै गजुरेलले आन्दोलनको उपलब्धी अनुसार जनसंबिधान नआउने भएकाले जति सिट संख्या दिए पनि सहभागि नहुने पार्टीले निर्णय गरेको बताए ।

पार्टीले तिहार पछि देखि आन्दोलन कार्यक्रम शुरु गर्ने निर्णय गरेको उनले जानकारी दिए। उनले आन्दोलन शान्तिपुर्ण हुने बताए। राज्य संकटको भुमरीमा फसेको उल्लेख गर्दै गजुरेलले भ्रष्टचार संस्थागत भएको आरोप लगाए । संबिधान बनाउन भन्दा पनि १५ करोडमा सभासदहरु लोभिएको उनले दाबी गरे ।


  •  
  •  
  •