संविधानसभाबाटै संविधान जारी गरे पनि आपत्ति हुँदैन : गजुरेल

67
  •  
  •  
  •  

काठमाडौ, २९ भदौ (ओएनएस) : नेकपा–माओवादीका उपाध्यक्ष सीपी गजुरेलले संविधानसभाबाटै संविधान जारी गरे पनि आफूहरूको आपत्ति नरहेको स्पष्ट पारेका छन् ।
रिपोर्टर्स क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा उनले दलहरू राष्ट्रिय राजनीतिक सम्मेलन गर्न तयार भएकोले संविधानको अन्तरवस्तुमा सहमती भएपछि सम्मेलन वा संविधानसभा जहाँबाट संविधान जारी गरे पनि आफूहरूलाई आपत्ति नहुने बताए ।

साक्षात्कारमा गजुरेलले राष्ट्रिय राजनीतिक सम्मेलनको आयोजना हुनु मुलुकको राजनीतिमा आईस बे्रक भएको भन्दै सम्मेलनमा शान्ति प्रक्रिया निष्कर्समा पुर्याउने, संविधानका अन्र्तबस्तुमा सहमति जुटाउने र समसामयिक राष्ट्रि राजनीतिका महत्वपूर्ण विषयबस्तुको विषयमा छलफल हुने एजेण्डा रहेको बताए । उनले भने – राजनीतिक सम्मेलन मुलुकको लागि शुभ संकेत हो, राजनीतिको आईस ब्रेक हो । विश्वलाई नै यसले सन्देश दिन्छ । हामीले यसलाई सकारात्मक रुपमा लिएका छौ प्रधानमन्त्रीको पहल पनि सकारात्मक छ । त्यसैले उहाँ संयूक्त राष्ट्र संघको साधारण सभामा भाग लिन जाँदा नेपालमा सवै राजनीतिक दलहरूका वीचमा भएको एकता र सहमतीको सन्देश लिएर जान पाउनु हुन्छ ।
उनले राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने सहमति पछि सहमतिमै संविधान जारी गर्ने विषयमा आफूहरू तयार रहेको भन्दै सहमति पछि जसले संविधान जारी गरे पनि कुनै आपत्ति नहुने स्पष्ट पारे । उनले भने–संविधानसभालाई हामीले निषेध गरेका छैनौ । अहिले हामीले संविधान सभालाई विघटन गर्नुपर्छ भनेर माँग राखेका छैनौ । त्यसैले संविधान सभाबाटै संविधान जारी भएपनि त्यसमा हाम्रो कुनै आपत्ति रहँदैन । यद्धपी गजुरेलले माघ ८ गतेभित्रै संविधान जारी हुने या नहुने भन्ने विषयमा आफूहरूको त्यति चासो नभएको पनि बताएका छन् । उनले भने–संविधान जारी हुने मिति हामीले तय गरेका होईनौ ।

राष्ट्रिय राजनीतिक सम्मेलन कांग्रेस र एमालेले भने जस्तो एक दिन मात्र नभएर यो लामो समयसम्म चल्ने दावी गर्दै प्रधानमन्त्री अमेरिकाबाट फर्किएर आएपछि फेरि पनि छलफल हुने बताए । गजुरेलले ३३ दलको तर्फबाट आफूहरूले देब गुरुङ बाहिर भएको कारण आइतबार बोल्नेहरूको नाम दिन नसकेको भन्दै भोली आफ्नो मोर्चाको सहभागीको नाम दिने जानकारी दिँदै सम्मेलनमा ९८ जनाले आफ्नो धारणा राख्ने पनि बताए ।
मुलुक गणतन्त्रमा गईसकेकोले राजनीतिक सम्मेलनमा पूर्व राजा ज्ञानेन्द्रको सहभागिता सम्भव नरहेको भन्दै गजुरेलले भने– नेपाल गणतन्त्रमा प्रवेश गरिसकेको छ । यहाँ गणतन्त्र र धर्म निरपेक्षताको विरोध गर्नेको कुनै अस्तित्व हुँदैन । उनले राजनीतिक सम्मेलन राजनीतिक पार्टीहरूका वीचमा हुने बताउँदै राजाको कुनै पार्टी नभएकाले त्यसमा कुनै सहभागीता नहुने स्पष्ट पारेका छन् । गजुरेलले भने–यो दर्शन गरेर हिँड्नेहरूको लागि गरिएको सम्मेलन होईन् ।

उनले आफुहरूले अघि सारेको ६ बुँदे प्रस्तावमा एमाओवादी गंभिर नभएकोले पार्टी एकताको कुनै सम्भावना नरहेको भन्दै आफूहरूले पनि पार्टी एकताको एजेण्डालाई प्राथमिकतामा नराखेको स्पष्ट पारे ।


  •  
  •  
  •