बादलले एकता होइन, आत्मसमर्पण गरेका हुन् : उपाध्यक्ष गजुरेल

126
  •  
  •  
  •  

काठमाडौँ, ३० बैशाख(ओएनएस) : नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले एमाओवादीसँगको पार्टी एकताको सम्भावना तत्कालको लागि अन्त्य भएको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार आयोजना गरेको साक्षात्कारमा उनले एमाओवादीले संसद र सरकार दुवै नछाडेसम्म कुनै पनि हालतमा पार्टी एकता हुन नसक्ने ठोकुवा गर्दै विगतमा सहमति नजिक पुगेपनि एमाओवादीकै नीतिको कारण पार्टी एकता हुन नसकेको स्पष्ट पारेका छन् ।

उनले एमाओवादीले क्रान्तिलाई धोका दिएकोले क्रान्तिलाई जोगाई राख्न आफूहरुले पार्टी पुनःगठन गरेको उल्लेख गर्दै अलग हुँदा एमाओवादी नेतृत्वलाई लालगद्दार भन्नेहरू नै अहिले मिल्न गएको बताए ।

गजुरेलले महासचिव रामबहादुर थापा बादलले एमाओवादीसँग एकता नभई आत्मसर्मपण गरेको आरोप लगाउँदै यो वामपन्थी पार्टीभित्र रहेका दक्षिणपन्थीहरुबीचको एकता भएको दावी गरे ।

उनले भने, ‘दक्षिणपन्थीहरुको एकताले बामपन्थीहरुको एकताको ध्रुवीकरण गरेको छ । बादलजीले विचार र राजनीतिलाई तिलान्जली दिई सरकारमा जान हतार भएर गर्नु भएको कथित एकता हो । उहाँले एमाओवादीसँग गरेको १२ बुँदे सहमति पार्टीले पहिला नै अस्विकार गरिसकेको आधार हो ।’

गजुरेलले पार्टी एकता मुख्य नेताले सिद्धान्त र कार्यदिशा मिल्दा गर्नु पर्नेमा पार्टीभित्रका केही दक्षिणपन्थी नेताहरुले गर्न लागेकोले यो पार्टी एकता हुनै नसक्ने ठोकुवा गर्दै अध्यक्ष नै नगईकन एकता हुनै नसक्ने तर्क गरे ।

उनले प्रचण्डले तत्काल पार्टी एकताको सम्भावना नदेखेपछि पार्टी भित्रबाट चोईट्याएर लिएर जान थालेको आरोप लगाउँदै यसले पार्टी एकताको वातावरणलाई झनै बिगारेको दावी गरेका छन् ।

गजुरेलले राज्यले जनयूद्धकालिन मुद्दा ब्यूताएर शान्ति प्रक्रिया उल्टाउन खोजेको आरोप लगाउँदै मेलमिलाप नगरी मुद्दा उल्टाउँदै जाने हो भने मुलुक फेरि द्धन्दमा जाने चेतावनी दिए ।

उनले मुद्दा मिल्नेहरुसँग जहिले पनि कार्यगत एकता गरेर अघि बढ्ने पार्टीको नीति रहेको बताउँदै मुद्दा मिले माओवादीमात्रै नभई काग्रेस र एमालेसँग पनि कार्यगत एकता हुन सक्ने स्पष्ट पारे ।


  •  
  •  
  •