काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सिपी गजुरेल सोमबार रिहा भएका छन् ।
भारतले सीमा मिचेको विषयमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापन पत्र बुझाउन सिंहदरबारतर्फ जान लाग्दा बिजुलीबजारबाट प्रहरीले उनीसहित अन्य कार्यकर्तालाई नियन्त्रणमा लिएको थियो ।
गजुरेलसँगै प्रहरीले नियन्त्रणमा लिएका अन्य १५ जना पनि रिहा भएका छन् । कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भारतले मिचेका सीमा क्षेत्रको विषयमा ज्ञापन पत्र बुझाउनका लागि समय लिएर जान लागेको भएपनि आफूलाई नियन्त्रणमा लिएको भन्दै गजुरेलले आपत्ति जनाए ।
सरकारले आफूलाई नियोजित रुपमा नियन्त्रणमा लिएको गजुरेलको भनाइ छ । आफूले उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री रामबहादुर थापा (बादल)लाई ज्ञापन पत्र बुझाउन लागेको विषयमा पूर्व जानकारी गराएको भएपनि नियोजित रुपमा नियन्त्रणमा लिने काम भएको गजुरेलले आरोप लगाएका छन् ।
सीमा मिचिको विषयमा ध्यानाकर्षण गराउँदा समेत आफूलाई नियन्त्रणमा लिइएको भन्दै गजुरेलले सरकार फासीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।