काठमाडौं १९ चैत ।
घरमा २-३ वटा गाई पालेर जेनतेन जीवन निर्वाह गरिरहेका बाँके खकुरा मनकामनापुरका देवीभक्त कँडेल अहिले व्यवसायिक गाईपालन गरेर सो क्षेत्रका सवैभन्दा धनी मानिसमा गनिन्छन् । कँडेलले ३ वर्षयता आधुनिक गाई खरिद गरेर व्यावसायिक रुपले गाई पालिरहेका छन्।
थोरै गाईपालन गर्दा लागत उस्तै लाग्ने र फाइदा कम हुने भएकाले केही बढाएर व्यवसायलाई निरन्तरता दिँदा उत्पादन बढेको उनको भनाइ छ । कँडेलको फार्ममा अहिले १० वटा गाई र बाच्छाबाच्छी छन् ।
दूध र दानाको मूल्य बराबर भएकाले कृषकले भनेजस्तो नाफा भने लिन नसकेको कँडेलको भनाई छ । उनले भर्खरै ८ लाख रुपैयाँ लगानी गरेर आधुनिक गोठ निर्माण गरेका छन् ।
गाईपालन गर्नुपूर्व भारत वसेर रोजगारी गर्नुपरेको अवस्था सुनाउँदै उनले केही वर्ष सडकमा कपडा विक्री पनि गरेको बताए । अहिले उनी दैनिक ४० लिटर दूध नजिकैको जनता दुग्ध उत्पादक सहकारीमा विक्री गर्छन् । गाइको मलबाट पनि उनी राम्रै आम्दानी गर्छन् ।
कान्तिपुरबाट