भारतमा कोरोना खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु

505
  •  
  •  
  •  

एजेन्सी । भारतमा कोरोना भाइरसविरुद्धको खोप लगाएका दुई स्वास्थ्यकर्मीको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार कोरोना खोप लिएका दुई स्वास्थ्यकर्मीको आइतबार र सोमबार मृत्यु भएको हो ।यी दुवै स्वास्थ्यकर्मीको मृत्युको कारण भने हृदयाघात भएको बताइएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार आइतबार साँझ भारतको उत्तर प्रदेशको मुरादाबादका ४६ वर्षीय स्वास्थ्यकर्मीको निधन भएको थियो । मुरादाबादका प्रमुख मेडिकल अधिकारीले उनको मृत्यु कोरोना खोपसँग भने सम्बन्धित नभएको बताए ।

त्यस्तै शनिबार खोप लिएका कर्नाटकका ४३ वर्षीय अर्का स्वास्थ्यकर्मीको सोमबार मृत्यु भएको छ । उनको मृत्यु पनि हृदयाघातको कारण भएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् । खोप लिएको दुई दिनपछि उनको मृत्यु भएको भए पनि उनको मृत्युमा कोरोना खोपको कुनै सम्बन्ध नरहेको विशेषज्ञहरुले बताएका छन् ।

भारतमा शनिबारदेखि सुरु भएको कोरोना खोप कार्यक्रमअन्तर्गत खोप लिएका धेरै मानिसहरुमा यसको नकारात्मक असर देखिएको छ । अहिलेसम्म भारतका तीन लाख ८१ हजार स्वास्थ्यकर्मीले कोरोना खोप लिएका छन् । जसमध्ये ५८० जनामा खोपको नकारात्मक असर देखिएको छ भने सातजनालाई अस्पतालमा भर्ना गर्नुपर्ने अवस्था देखिएको छ ।

यसैबीच कोभिड–१९ विरुद्धको खोप लगाएका केहीमा स्वास्थ्य समस्या देखिएपछि भारतमा खोप लगाउन निश्चित सर्त तोकिएको छ ।

कोभ्याक्सिन खोप उत्पादन गरेको भारतको बायोटेक कम्पनीले खोप लगाउन सर्त तोकेको हो । कम्पनीले एलर्जी हुने, ज्वरो आएका, रगत पातलो बनाउने औषधि खाइरहेका र रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि खाइरहेका व्यक्तिलाई खोप नलगाउन आग्रह गरेको छ ।

यस्तै, गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि खोप नलगाउन कम्पनीले आग्रह गरेको भारतीय पत्रिका द हिन्दूले जनाएको छ । कम्पनीले खोप लगाएपछि गम्भीर एलर्जी हुन सक्ने र श्वास फेर्नसमेत समेत समस्या हुन सक्ने, रिँगटा लाग्ने, कमजोर महशुस हुने जस्ता लक्षण देखिने पनि बताएको छ ।

भारतमा कोभिड१९ विरुद्धको खोप लगाएका ५८० जनालाई साइड इफेक्ट देखिएको छ । तीन जना भने अस्पतालमा भर्ना भएका छन् । अहिलेसम्म ३ लाख ८१ हजार जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।


  •  
  •  
  •