स्वास्थ्यकर्मीकाे सुझाव,‘काेराेना खोप लगाउन डराउनुपर्दैन’

744
  •  
  •  
  •  

नेपालमा कोरोना भाइरस(कोभिड–१९) भित्रिएको झण्डै एक वर्ष पूरा भएको छ । यसबीचमा २ लाख ७३ हजार ७ सय ६० संक्रमित भइसकेका छन् भने २६ सय ६४ बढीको कोरोनाकै कारण ज्यान गइरहेको छ ।

नेपालमा कोरोना निको हुनेको दर पनि उक्तिकै रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितमध्ये २ लाख ७० हजार १ सय ३९ जना सक्रमणमुक्त भइसकेका छन् ।

हाल नेपालमा कोरोना भाइरस संक्रमणको दर विस्तारै कम हुँदै गएको छ । यसबीचमा सरकारले कोरोना भाइरसविरुद्धको खोप अभियानलाई पनि तिव्रता दिइरहेको छ ।

नेपालले भारतको सिरम इन्स्टिच्युटले बेलायतको अक्सफोर्ड युनिभर्सिटी र अस्ट्राजेनेकासँग मिलेर बनाएको खोप कोभिशिल्डलाई अनुमति दिएर खोप अभियाननै चलाएको छ ।

हालसम्म उक्त खोप पहिलो चरणको अभियानअन्तर्गत करीब चार लाख ३० हजार जनाले खोप लगाइसकेका छन् भने दोस्रो चरणको अभियान यहि फागुन २३ गतेबाट सञ्चालन हुँदैछ ।यसबीचमा नेपालमा चिनियाँ खोपले पनि आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेको छ ।

खोप लगाएका स्वास्थ्यकर्मीको अनुभव
कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई विभिन्न असर देखिनु भनेको खोपले काम गरेको रुपमा बुझ्नुपर्ने विज्ञहरु बताउँछन् ।
खोप लगाएकालाई टाउको दुख्ने, ज्वरो आउने, शरीर दुख्ने, वाकवाकी लाग्नेलगायतका प्रतिक्रिया भएको बताउँदै यी समस्या सामान्य भएको विज्ञहरुको भनाइ छ ।

खोप लगाएपछि बिस्तारै ज्वरो बढ्दै गयोः डा. राजेन्द्र खनाल

म हाम्रो लुम्बिनी प्रादेशिक अस्पतालको खोप केन्द्रबाट खोप लिने पहिलो ब्यक्ति हुँ । मलाई खासै डर भने केहि लागेको थिएन । किनभने भ्याक्सिन पछिका सामान्य समस्या भए पनि म तयारै थिए । म कोभिडको सिकिस्त अवस्थाबाट पार पाएको मान्छे । बिहान १०ः१५ तिर खोप लिएपछि करिब १२ घण्टा मलाई केहि पनि भएन ।

लगाएको ठाउँमा पनि दुखेन । तर, यस्तै १०ः३० बजेतिर सुत्ने बेलामा मलाई असाध्यै जाडो महशुस भयो । बाहिरको जाडोले जस्तो लागेको थियो । शुरुमा तर यो अलिक अस्वभाविक ढंगले कमाउने जाडो थियो । त्यसपछि बिस्तारै ज्वरो बढ्दै १०१ डिग्रीसम्म । पानी तिर्खा लागेर तीन गिलास पानी पिँए । त्यो रात अलिक डिस्टर्ब नै भयो । बिहान उठेर ज्वरो र जीउ दुखाई कम गर्ने औषधी खाए । बिस्तारै आराम भएपनि म त्यो दिन अस्पताल गइन । आराम गरेर बसे । फेरि दिउँसो अर्को पटक औषधी लिएपछि आराम हुँदै गयो । पछि ठिक भयो, अहिलेसम्म ठिकै छ ।

कुनै पनि बाहिरी कुरा शरीरभित्र प्रवेश गरेपछि कृया प्रतिक्रिया त हुन्छ नै, त्यसमा पनि भाइरस विरुद्ध प्रतिरक्षा प्रणाली मजबुत बनाउन प्रयोग भएको भ्याक्सिन । शरीरको प्रतिक्रियाको अर्थमा मैले यसलाई बुझेको छु । यसले भविष्यमा यदि भाइरसको प्रवेश भयो भने त्यतिन्जेलसम्म तैयार भएर शरीरमा बसेको एन्टिबोडिले काम गर्ने हो ।

मांसपेशी दुखेको अनुभव भयो: डा. विपिन नेपाल रक्तसञ्चार विद्

कोरोना खोप लगाउँदा मलाई कुनै साइड इफेक्ट भएन । पाखुरामा अलिकति सुनिने र दुख्ने मात्रै भयो । मांसपेशी दुखेको अनुभव भयो । मैले पारासिटामोल खाए । त्यसपछि खासै समस्या देखिएन । यदि कोरोना खोप लगाएर कसैलाई ज्वरो आउने भयो भने साधारण सिटामोल खाएमा त्यसको समस्या समाधान हुन्छ । मैले खोप लगाउनुअघि प्रभावकारिता, असरका बारेमा गरिएका अनुन्धानहरु हेरेर केहि जानकारी पनि लिएको थिए ।
अर्को कुरा सरकारले कोरोना खोपका लागि स्वास्थ्यकर्मीलाई पहिलो प्राथमिकतामा राख्यो । जसले स्वास्थ्यकर्मीले खोप लगाउन पाँए । त्यसमा म खुसी छु ।
हाम्रो जस्तो विकासोन्मुख देशले जुन जुलाई तिर मात्र खोप पाउन पाउँछ कि भन्ने लागेको थियो तर छिट्टै पायौँ । यसमा नेपाल र भारत सरकारप्रति आभारी छु ।

कुनै पनि लक्षण देखिएनः डा. निर्मल भुसाल

माघ १४ गतेका दिन देशव्यापी रुपमा खोप लगाउने कार्यक्रम उत्साह वद्र्धक हुने अपेक्षासहित म पनि आफैँ कार्यरत अस्पताल राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा खोप लिन सरिक भए ।
हाम्रो खोप केन्द्रमा हाम्रै अस्पतालका कार्यकारी निर्देशक डा. रामआधार यादवले खोप लिइसकेपछि खोप लगाउने कार्य अगाडि बढ्यो ।
मैले तेस्रो नम्बरमा खोप लगाउने अवसर प्राप्त गरे । खोप लगाइसकेपछि आधा घण्टा अव्जरभेसनमा बस्ने क्रममा मेरो र हामीसँगै खोप लगाउनु भएका स्वास्थ्यकर्मी साथीहरुमा अलिकति ब्लड प्रेसर बढेको भेटियो । आधा घण्टा अव्जरभेसनमा सकिएपछि सामान्य काममा फर्के ।
साँझसम्म केही नौलो अनुभूति भयो । एकाग्रता गर्न नसके जस्तो, लामो यात्रा पछि थकान जस्तो, त्यसपछि मैले अन्य कुनैपनि परिवर्तन भेटिन । अन्य साथीहरुमा ज्वरो आउने, शरीर दुख्ने लक्षण देखिए पनि ममा त्यस्तो कुनै पनि लक्षण देखिएन ।

केहि असहज भयोः डा. प्रकाश ज्ञवाली

खासै त्यस्तो खालको समस्या देखिएन । अलि मनोवैज्ञानिक रुपमा पहिलेदेखि के हुन्छ होला ? कसो हुन्छ होला ? भन्ने आफुले नलगाउँदा खेरि त्यो जसलाई पनि हुँदो रहेछ । जसले गर्दा अलिअलि असहज शुरुमा लाग्यो ।

त्यसपछि शरीरले पनि प्रतिक्रिया दिएको होला, हल्का अलिकति गरम भएजस्तो, त्यसपछि कता कता दुखे जस्तो भयो । त्यो दिन एउटा सिटामोल खाइदिए । त्यसपछि आफै नै हराएर गयो । अहिले पहिलेकै जस्तो अवस्थामा छु । यो खोप अनुसन्धानका क्रममा करिब ७० प्रतिशत प्रभावकारी छ भन्ने मानिन्छ ।

कसैलाई कुनै पनि प्रकारको सुई लगाउँदा, औषधीहरु प्रयोग गर्दा कुनै व्यक्तिको शरिरमा एन्टिवडी प्रतिक्रियात्मक हुन्छ जसले गर्दा शरिरमा एजर्जि टाइपका प्रक्रिया देखाउने, कसैलाई कडा खालको दखाउँछ ।

कसैलाई अलिकति सामान्य प्रकारको पनि देखाउँछ । कहि सुई लगाइएको स्थानमा समस्या देखिएपनि तत्काल व्यवस्थापन गर्न सकिने सुविधायुक्त अस्पतालहरुमा मात्र लगाइएको कारण पनि केहि भइहाल्यो भने पनि तत्कालै व्यवस्थापन गर्न सकिने अवस्था रहेको छ । साह्रै डराउनुपर्ने अवस्था छैन् ।

खोपको उद्देश्य मृत्युदर कम गर्नु होः डा.रवीन्द्र पाण्डे


खोपको मुख्य उद्देश्य मृत्युदर कम गर्नु हो । कारणवश कोरोना महामारीको दोस्रो लहर आयो भने जुन वर्ग बढी जोखिममा हुन्छ, उक्त वर्गलाई पहिलो प्राथमिकतामा राख्नुपर्दछ ।
– फ्रन्ट लाइनका स्वास्थ्यकर्मी ।
– जेष्ठ नागरिक जसलाई दीर्घरोग पनि छ ।
– जेष्ठ नागरिक जसलाई दीर्घरोग छैन ।
– बयस्क जसलाई दीर्घरोग छ ।
– अन्य पेशाकर्मी जो जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्छन् ।
– बसचालक र हेल्पर, शिक्षण पेशामा संलग्न व्यक्तिहरु ।
– बयस्क जसलाई दीर्घरोग छैन ।
– एकपटक कोरोना संक्रमण भएका व्यक्ति (यो समुहलाई न्याचुरल एन्टिबोडीले काम गरेको हुन्छ ।

– १८ वर्षमाथिका सबै व्यक्ति ।

खोपको अन्तर कति गर्ने ?

४ हप्ताको अन्तरमा दोस्रो मात्रा लिंदा कोभिशिल्ड खोप ५४ .९ प्रतिशत प्रभावकारी देखिएको छ भने ८ देखि १२ हप्तामा दोस्रो मात्रा लिंदा ८२.४ प्रतिशत प्रभावकारी देखिएको अनुसन्धानले देखाएको छ ।
पहिलो मात्राले लगाएको २२ दिन देखि ९० दिनसम्म कोरोना संक्रमण हुने सम्भावना ६७ ५ कम हुन्छ भने संक्रमण भएर गम्भीर हुने वा मृत्यु हुने सम्भावना अन्त्यन्त न्यून हुने अध्ययनले बताएका छन् ।

नयाँ प्रजातिमा प्रभावकारिता
कोभिशिल्ड खोप बेलायतबाट फैलिएको नयाँ प्रजातिलाई प्रभावकारी देखिएको तथा अफ्रिकामा फैलिएको प्रजातिमा १० ५ मात्र प्रभावकारी देखिएको हुँदा अक्सफोर्ड र एस्ट्रेजेनेकाले सेप्टेम्बरसम्म उक्त प्रजातिलाई पनि काम गर्ने गरि खोप बिकास गर्ने जनाएको छ ।

चिनियाँ खोपको प्रभावकारिता

चिनिया कम्पनी सिनोफार्मको खोप भेरो सेललाई औषधि ब्यबस्था विभागले आकस्मिक प्रयोगको लागि अनुमति दिएको छ ।

चीनले ५ लाख डोज खोप नेपाललाई सहयोग गर्ने बताएको छ । युएइमा १२५ देशका ३१ हजार व्यक्तिमा गरिएको परीक्षणमा यो खोप ८६ ५ प्रभावकारी देखिएको छ भने गम्भीर प्रति असर देखिएको छैन ।

यो खोप चीनमा १ करोडभन्दा धेरै व्यक्तिले लगाएका छन् भने बहराइन, युएई, जोर्डन, अर्जेन्टिना, मोरक्को, पेरु लगायतका देशमा पनि खोप कार्यक्रम चलिरहेको छ । यसको पनि २ मात्रा ४ हप्ताको अन्तरालमा लगाउनुपर्दछ ।
यो खोप महँगो भएकोले नेपालले अनुदान वा भारी छुटको लागि पहल गर्नुपर्ने देखिन्छ ।

कुटनैतिक पहल

रुसको सपुत्निक भी ९२ प्रतिशत प्रभावकारी देखिएको ग्यामेलिया इन्स्टिच्युटले जनाएको छ । सरकारले कुटनैतिक च्यानल प्रयोग गरेर रुस तथा अमेरिका (मोडेर्ना खोप जसलाई माइनस २० डिग्रीमा केहि लाख मात्रा भण्डारण गर्न नेपालले सक्दछ) बाट पनि अनुदानमा खोप ल्याउने प्रयत्न गर्नुपर्दछ ।

त्यस्तै तेस्रो चरणको क्लिनिकल ट्रायल पुरा भएपछि भारतको कोभ्याक्सिनको लागि पनि पहल गर्नुपर्दछ । चीनका सिनोभ्याक लगायत अन्य प्रमाणित खोपको लागि पनि पहल गर्न सकिन्छ ।


  •  
  •  
  •