कोरोनाको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने

46
  •  
  •  
  •  

काठमाडौं । कोरोना भाइरस सङ्क्रमितको निःशुल्क उपचार नगर्ने अस्पताललाई कारवाही गरिने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना संक्रमितको उपचार गर्ने सबै कोभिड अस्पतालहरुलाई परिपत्र जारी गर्दै कोरोनाको लक्षण देखिएका सबै संक्रमितको निःशुल्क उपचार गर्न निर्देशन दिएको हो। मन्त्रालयले निःशुल्क उपचार नगराउने अस्पताललाई कारबाही गर्ने चेतावनी समेत दिएको छ।

मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीका अनुसार सरकारको निर्णयानुसार कोभिड–१९ का सङ्क्रमितको उपचार नगर्ने अस्पताललाई नियमानुसार कारवाही गरिनेछ ।

उनका अनुसार सबै अस्पताललाई सङ्क्रमितको उपचार निःशुल्क गर्ने भनी परिपत्र र निर्देशन दिइसकेको छ । केही अस्पतालले अझैं निःशुल्क उपचार नगरेको जनगुनासो आएकाले त्यस्ता अस्पताललाई नियमानुसार शोध भर्ना रकम उपलब्ध गराइने जनाइएको छ ।

कोभिड–१९ को उपचारवापत अस्पताललाई अनुदान उपलब्ध गराउनेसम्बन्धी आदेश– २०७७ परिमार्जन गरी मन्त्रालयले कोभिड–१९ उपचारका लागि सूचीकृत अस्पताललाई कोभिड–१९ को लक्षण भएका वा चिह्न देखिएका व्यक्तिको पिसीआर परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।

उपचार गरेवापत अस्पताललाई शोधभर्ना रकम मन्त्रालयले उपलब्ध गराउने छ । सरकारले कोरोना बीमा गरेको हकमा भने बीमा रकमबाट तथा सक्षम, इच्छुक र योगदान गर्ने चाहनेले उपचारमा योगदान गर्न सक्ने भनेको छ ।

‘मन्त्रालयले कोभिड उपचारका लागि सूचिकृत अस्पतालहरुलाई कोभिड १९ का लक्षण वा चिन्ह देखिएका व्यक्तिहरुको परीक्षण र उपचार निःशुल्क(तर कोरोना बिमा गरेकाको हकमा बिमा रकमबाट र सक्षम, इच्छुक र योगदान गर्न चाहनेले योगदान गर्न सक्ने) गर्ने भनी परिपत्र तथा सार्वजनिक सूचना समेत जारी गरिएको भए पनि केही अस्पतालहरुले यस अनुसार नगरेको भनी जनगुनासो आएको भन्दै सबै अस्पतालहरुलाई निःशुल्क उपचार गर्नु गराउनु हुन निर्देशानुसार अनुरोध छ’ मन्त्रालयद्वारा जारी परिपत्रमा भनिएको छ।’

 


  •  
  •  
  •