विज्ञ भन्छन्, ‘समाचार यस्तो दिउँ जसले जनतालाई शितलता देओस्, बाँच्ने उत्साह बढाओस्’

65
  •  
  •  
  •  

काठमाडौँ । कोरोना संक्रमणको अहिलेको अवस्थामा जनतालाई शितलता दिने र बाँच्ने उत्साह बढाउने खालका समाचार प्रकाशन र प्रशारण गर्न विज्ञहरुले सुझाव दिएका छन् ।


विभिन्न सञ्चारमाध्यमका सम्पादक जनस्वास्थ्यविद् र सरोकारवाला मन्त्रालयका प्रतिनिधीहरुको बीचमा आउट लाइन मिडियाले आयोजना गरेको भर्चुअल अन्तक्र्रियामा बोल्दै विज्ञहरुले सकारात्मक सन्देश दिने खालका समाचार सम्प्रेषण गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा जनस्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डेले गलत खबरको भ्रमले महामारी फैलिने भएकोले मिडियामा लेख्दा कम्तीमा पनि वैज्ञानिक तथ्यको आधारमा समाचार सम्प्रेषण गर्दा राम्रो हुने बताए ।
उनले भने– “आत्महत्या बढे भनेर समाचारहरु आइरहेको छ । यस्ता समाचारले आत्महत्यालाई प्रोत्साहन हुने देखिन्छ, त्यसैले जनतालाई पिपलको छहारीजस्तो समाचार दिउँ जसले जनतालाई शितलता दियोस् । अहिले अन्धकार देखेका मानिसहरुले उज्यालो देखुन् र बाँच्ने उत्साह बढोस् ।”
डिप्रेसन र चिन्ताले मानसिक समस्या देखापरेको र कोरोनाको कारण लाखौँ बेरोजगार भएर उद्योग बन्द भएको यो बेलालाई उत्पादन मुलक क्षेत्रमा काम गर्न उत्प्रेरणा जगाउनेतिर सञ्चारमाध्यमहरु लाग्नुपर्ने उनको भनाइ छ ।

डा. पाण्डेले महामारीको बेला हरेक जनस्वास्थ्यकर्मी पत्रकार र हरेक पत्रकार जनस्वास्थ्यकर्मी हुन् भन्ने सोचेर काँधमा काँध मिलाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

आयुर्वेद डा. प्रकाश ज्ञवालीले सञ्चारमाध्यमले सूचना दिने व्यक्ति र सूचना कत्तिको सही हो भन्नेमा आधिकारिकता पुष्टि गर्न ध्यान दिनुपर्ने बताए । उनले भने, ‘सबै जडीबुटी आयुर्वेदीक होइनन् । परम्परागत चाइनीज मेडिसिनकाहरु आयुर्वेदिक होइनन् ।’ कहिले काहीँ मिडियामा यो विषयवस्तु अध्ययन नगरेको व्यक्तिहरुको शब्दावलीमा समस्या देखिएको उनको भनाइ छ । उनले भने, ‘आयुर्वेदको विषयवस्तु मिडियामा नआउँदा सामाजिक सञ्जाल हाबी हुन्छ । सरकारको काम कारवाहीमा आयुर्वेदको समस्या आउने खालको समस्या देखियो ।’

डा. शरद वन्त मिडियाले तथ्य सूचना आम जनता समक्ष पु¥याउने भुमिका निर्वाह गर्नुपर्ने बताए । उनले सरकारको आलोचना गर्ने सञ्चारमाध्यमले सञ्चारमाध्यमकै पनि आलोचना गर्नुपर्ने बताए ।

वरिष्ठ पत्रकार राजेन्द्र दाहालले जनस्वास्थ्य क्षेत्र र पत्रकारको बीचमा तादत्म्यता कायम गर्न आवश्यक रहेकेो बताए । उनले कोभिड–१९ का बारेमा आशा जगाउने समाचार आएपनि भ्याक्सिन भने नआएको बताए । विगतका ९ महिनामा कोरोनाको महामारीले कसरी घच्घच्यायो भन्ने विषयमा अलिकति समीक्षा गरेर यसरी जानुपर्छ है भन्ने कुरामा स्वास्थ्य क्षेत्र, जनस्वास्थ्य क्षेत्रलाई केन्द्र विन्दुमा राखेर काम गर्नुपर्ने बताए ।

वरिष्ठ पत्रकार चन्द्रकिशोरले पत्रकारले आफ्नो काम निरन्तर गरिरहेको भन्दै यो बेला सामाजिक सञ्जालले धेरै महत्वपूर्ण भुमिका खेलेको बताए ।

वरिष्ठ पत्रकार बबिता बस्नेतले मुख्य समाचार र सम्पादकीय नै राजनीतिक संकटमा केन्द्रीत भएको र सुरुका दिनमा कोरोनालाई विशेष महत्व दिएको भएपनि अहिले कोरोना कम प्राथमिकतामा परेको बताइन् । मिडियाको अहिलेको शिक्षको कुरा खबर गर्यौँ शिक्षा दिएनौँ सामाजिक दुरी व्यवहार परिवर्तनको कुरामा हामीले गर्न नसकेका हौँ ।

कार्यक्रममा फाउण्डेसन हिरोन्डेल्ल कोभिड–१९ कि उपसम्पादक सुज्यान मोलले कोरोना भाइरसले विश्वका मिडियामा पारेको प्रभावका बारेमा जानकारी गराएकी थिइन् ।


  •  
  •  
  •