नेपालका लागि कोरोना नियन्त्रण चुनौतीपूर्ण देखिन्छ : डा.न्यौपाने

33
  •  
  •  
  •  

यहि अवस्था रही रहने हो भने नेपालमा कोरोना संक्रमितको संख्या उल्लेख्य रुपमा भेटिने अनुमान गर्न खासै गाह्रो छैन ।

किनभने लकडाउन खुकुलो हुँदै गएको छ, कतिपय ठाउँमा खासै छँदै छैन भन्दा पनि हुन्छ । अर्कोतिर नजिकिँदै गरेको चाडले गर्दा मान्छेहरुको आवतजावत बाक्लिएको छ ।
लामो समयसम्म कोरोना भाइरस रहिरहेकोले मानिसहरुले विधिगत सावधानीका उपायहरु पनि कम प्रयोग गर्दै गएको देखिन्छ ।

डा.दिनेश न्यौपाने

अर्को महत्वपूर्ण कुरा भनेको टेस्ट, आइसोलेसन, कन्ट्रयाक ट्रेसिङ र क्वारेन्टाइन हुनुपर्यो । त्यो हुन नसकेको हुनाले आगामी दिनहरुमा कोरोना नियन्त्रण नेपालको लागि चुनौतीपूर्ण हुने देखिन्छ ।

मुख्य कुरा एक व्यक्तिबाट अर्को व्यक्तिलाई सर्न नदिन उनीहरुको टेष्ट गर्नुपर्यो, पहिचान गर्नुपर्यो एक व्यक्तिबाट सर्न नदिन उनीहरुलाई आइसोलेसनमा राख्नुपर्यो ।

रोग फैलिन नदिनको लागि एउटा संक्रमित व्यक्तिले अर्को स्वस्थ व्यक्तिलाई रोग सारेन भने संक्रमणदर विस्तारै कम हुँदै जान्छ त्यसैले एकबाट अर्कोमा रोग सर्न नदिनेतर्फ हाम्रो ध्यान केन्द्रीत हुनुपर्छ । यो एकदमै छिटो फैलिने र सजिलो माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकोले नियन्त्रण गर्न त्यति सजिलो र सहज छैन त्यसैले हामीले धेरै नै सावधानी अपनाउनुपर्छ ।

एकजना संक्रमित व्यक्तिले अरु धेरैलाई रोग सारेको हुन सक्छ । जति पनि सम्भावित संक्रमित छन् उनीहरुलाई स्वस्थ व्यक्तिबाट टाढा राख्नुपर्यो त्यसलाई हामी क्वारेन्टाइन भन्छौँ । उनीहरुलाई पत्ता लगाउन प्रभावकारी कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्यो । आफूले आफूलाई बचाउन बेला–बेलामा साबुन पानीले हात धुने, बाहिर जाँदा मास्कको प्रयोग गर्ने, स्यानिटाइजरको प्रयोग गर्नुपर्यो ।

सकेसम्म एक व्यक्तिले अर्को व्यक्तिलाई नभेट्ने भेट्नै परेमा र जानै पर्ने भएमा ६ फिटको दुरी कायम गर्ने गर्नुपर्यो । यति गर्यौँ भने मात्रै कोरोनाको अहिले फैलिरहेको दर कम हुन्छ अन्यथा जबसम्म भ्याक्सिन र औषधी पत्ता लाग्दैन तवसम्म जनस्वास्थ्यका मापदण्ड पालना गरेनौँ भने कोरोनाको संक्रमणको दर घट्ने सम्भावना कम हुन्छ ।

हामी एकदमै जटिल परिस्थितिबाट गुज्रिरहेका छौँ । विश्व नै आक्रान्त भएको यो विशेष परिस्थितिलाई अरु सामान्य अवस्थालाई अरु सामान्य अवस्थाको रुपमा विल्कुल लिन हुँदैन ।
उदाहरणको लागि चीनले गएको वर्ष नयाँ वर्ष मनाएन जुन उनीहरुको ठूलो चाड हो । पश्चिमा देशहरुले पनि उनीहरुको ईष्टर मनाएनन् साथसाथै धेरै ठाउँमा खेलकुदहरु र कन्सर्टहरु सञ्चालन भएनन् । पश्चिमा देशहरुको लागि महत्वपूर्ण मानिएका बारहरु अहिले पनि बन्द छन् र खोलिएका ठाउँहरुमा पनि निकै सावधानी अपनाइएका छन् । यो रोगको संक्रमण दर कम गर्न र नियन्त्रण गर्न यो कुरा हाम्रोमा पनि लागू हुन्छ भन्ने कुरा हामीले बिर्सनु हुँदैन ।

मुख्य कुरा त दशैँ, तिहार, छठ तडक–भडक घुलमिल, यात्रा गरी मनाउने कुरालाई यो वर्ष थाती राख्नुपर्छ र आफ्नो सिमित परिवारको सदस्यभित्र मनाउँदा पनि जहाँ छौँ त्यही मनाउँदा जाति हुन्छ, जुन सरकारले भनिसकेको छ । हुँदै भएन भने र एक जिल्लाबाट अर्को जिल्लामा मनाउन जानुपर्यो भने मास्क लगाउने, भेटघाट हुँदा ६ फिटको दुरी कायम गर्ने गर्दा जोखिम कम गर्न सकिन्छ तर यसले पुरै नियन्त्रण हुने होइन ।

नेपालमा हाम्रो संस्कार छ, आफूभन्दा ठूलाबाट टिका थाप्ने । वृद्ध वृद्धाबाट टिका थाप्दा मुख्य सावधानी अपनाउनुपर्छ, टिका थाप्नै परेपनि मास्क लगाउने, उक्त वृद्धसँग घुलमिल नहुने । टिका थाप्ने परेमा एकदमै छिटो बाहिर खुला ठाउँमा बसी मास्कको प्रयोग गरेमा साबुन पानीले हात धोएमा वा सेनिटाइजर प्रयोग गरेमा केही हदसम्म संक्रमणलाई कम गर्न सकिन्छ तर पनि के कुरामा जोड दिनुपर्यो भने एउटा दशैँ नमनाउँदैमा अथवा अलिकति फरक ढंगले मनाउँदैमा हामीले केही ठूलो कुरा गुमाउँछौँ जस्तो लाग्दैन अहिलेको विशेष परिस्थितिबाट यो भन्दा भयावह स्थिति आउन नदिन हामी सबै जिम्मेवार हुनुपर्दछ ।

(डा. न्यौपाने जन्स हप्किन्स विश्वविद्यालयमा कार्यरत नेपाली जनस्वस्थ्यविद् तथा अनुसन्धानकर्ता हुन् ।)


  •  
  •  
  •