नेपालमा थप दुई हजार ६३८ जनामा कोरोना संक्रमण, दुई हजार १७४ जना डिस्चार्ज

७० को भेन्टिलेटर र ३०५ जनाकाे आईसीयूमा राखेर उपचार
103
  •  
  •  
  •  

काठमाडौं । नेपालमा बुधबार थप दुई हजार ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप दुई हजार ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

योसँगै हाल कुल संक्रमितको संख्या एक लाख १७ हजार ९९६ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ३६७ रहेको छ । बुधबार थप दुई हजार १७४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै हाल डिस्चार्ज हुनेको संख्या ८० हजार ९५४ पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ६ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ९४७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख २१ हजार ३८ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन १४ हजार ८१९ जना र होम आइसोलेसनमा २१ हजार ५४८ जना रहेका छन् । आजसम्म देशभर चार हजार ६६६ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ७० जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यसअघि मंगलबार देशभर तीन हजार ५५६ कोरोना संक्रमित थपिएका थिए भने एक हजार ५०३ जना डिस्चार्ज भएका थिए ।


  •  
  •  
  •