कोरोनाले के, के मात्रै गरेन मलाई ?

997
  •  
  •  
  •  

असोज ७ गते अफिसमै काम गरिराखेको बेलामा जीउ दु:खेजस्तो भारि भएकोले ३ बजे दिउँसो नै घर फर्किए, आरामको लागि। केहि आराम गरेपछि बेलुकी केहिछिन घुम्न निस्किए । खानापछि सुत्ने काम भयो। त्यहि मध्यराति भनौं असोज ८ गते (बिहीबार)बिहान १ बजे एक्कासि सुख्खा खोकीको कारणले घाँटि कोक्याएको जस्तो भएर उठ्नुपर्यो । ज्वरो आएको महशुस थियो, नाप्दा १०१ डिग्री फरेनहाइट थियो। बाहिर पानी परिराखेको थियो। भित्र औडाहा भैराखेको, पानी पिएर साथमा भएको जिउ दुख्न कम हुने र ज्वरो कम गर्ने औषधि खाएर सुत्ने कोशिस गरे।

डा.राजेन्द्र खनाल

असोज ८ गते उज्यालो भएपछि उठ्दा जिउ करकरि खाएको, ज्वरो चढ्दै रहेको र सुक्खा खोकीले आक्रान्त पारेको आफूलाई पाएपछि पीसीआर टेस्टको लागि स्वाब पठाइयो। १२ घन्टाजतिमा रिपोर्ट प्राप्त नहुँदै ज्वरोको मापन १०३ डिग्री फरेनहाइटसम्म रेकर्ड भयो। पोजिटिभ रिपोर्ट (मात्राको हिसाबले भाइरसको लोड बढी देखिएको)प्राप्त भएपछि न्युजमै फ्ल्यास भयो । म होम आइसोलेशनमा स्वनिगरानि र अन्य साथीहरूको चिकित्सकीय सल्लाहमा बस्ने निधो गरे। परिवारका अन्य सदस्यहरू पनि छुट्टाछुट्टै बसाउने ब्यवस्था गरियो।

असोज ९ गते शुक्रबार – आइसोलेशनको दोश्रो दिन: केहि परम्परागत शैलीका उपचार बिधि जस्तै: पानीको बाफ, प्रशस्त ताताे झोल पदार्थको सेवन गर्दै बसे।कोरोना सम्बन्धि अपडेट, साहित्यिक किताबको अध्ययन यस्तैमा मन भुलाए। शरिरको रापसँगै जीउ दुखाइ, खोकि छदै थियो। त्यसदिनमा सामाजिक विकासमन्त्री सुदर्शन बरालज्यू मेरो घर खोज्दै भेट्न आउनुभयो । उहाँको यो कुराले टोल छिमेकमा फैलिएको सन्त्रासको मनोविज्ञानलाई फरक हिसाबले बुझ्न सहयोग गर्यो। कम से कम गेट बाहिरसम्म आएर आफूहरुको केहि सहयोग चाहिन्छ कि भनेर छर छिमेकबाट चासो र मेरो स्वास्थ लाभप्रति शुभेच्छा प्राप्त गर्ने भाग्यमानी चिकित्सक भए जस्तो लाग्छ। आफ्ना भन्नेहरु बरु कता हराए हराए ? सबैचाहि होइन। आफ्नो घर भएकालाई र पोष्टमा भएकालाई त यस्तो छ भने डेरामा बसेका स्टाफ संक्रमित भए भनेर घरमालिकबाट निकालिएका हृदयबिदारक र अमानवीय उदाहरण हामिसँगै छन्।

असोज १० गते शनिबार -तेश्रो दिन: छातिको एक्स- रे गराउन अस्पतालमा आफैँ गाडि चलाएर आए। एक्स- रे ठिकै देखिएकोले अक्सिजनको मात्रा हेर्दै घरमा मनिटरिङ्मा रहन सल्लाह भए मुताबिक गरे। अक्सिजन स्याचुरेशन(रगतमा अक्सिजनको मात्रा) घट्ने काम कोरोना संक्रमणमा किन हुन्छ ? भन्ने बारेमा लेखजस्तै प्रस्तुत पनि गरेको थिए। आफूलाई अझैँ कमजोर महशुस गरेको थिइन।

असोज ११ गते- चौथो दिन: आइतबार शरीर गलेर निकै कमजोर भएको महसुस भयो । खानाको रुचि पुरै हट्यो । नाकमा अजिव सा गन्धको प्रवेस भयो। पानी पिउँदा पनि डिजेल मिसाएको गन्ध जस्तो आउने। अजिव सा लागेको जीउ दुखाइको अनुभुतीलाई समेटेर काब्यात्मक रुपमा फेसबुकमा “यस्तो कसैले पनि भोग्नु नपरोस् अलिकति पनि” भन्दै पेश गरेको थिए।

असोज १२ गते सोमबार- पाचौं दिन : झनै शरीर कमजोर । अक्सिजनको मात्रा घरमा हेर्दा ९२- ९३% मा झर्ने बद्लाव आएपछि झन डर लाग्यो। अझ ज्वरो पनि १००-१०१ को हाराहारीमा हुँदा फरक पर्ने। चिकित्सक साथीहरूबाट पुनः एक्स- रे गर्न अस्पताल आउन सल्लाह भयो। फेरि आफैं गाडी चलाएर दिउसो अस्पतालमा एक्स-रे को लागि गए । चिकित्सकहरुलाई हेर्न बोलाए । एक्स-रे ठीकै भए पनि मेरो श्वास प्रश्वासको गति र कमजोर अवस्था र त्यहाँ मापन भएको अक्सिजनको मात्राले तुरुन्त मनिटरिङ्मा आइ. सी, यू मा जान सल्लाह भयो । म घर फर्केर परिवारलाई खबर गरेर आफ्नो बढी ख्याल गर्न सुझाउँदै कोभिड आइ सी. यू . तर्फ लागे ।

६ घन्टा जतिको आइ सी यू बसाइँमा मोनिटरिङ गर्दा अक्सिजनको मात्रा अलिक स्थिर देखियो । त्यतिखेरै बिहान परिवारका सदस्यहरुको स्वाब टेस्ट गराइएकोमा श्रीमती(उनलाई हिजोदेखि रुघा लागेजस्तो भएको पनि थियो) को रिपोर्ट पनि पोजिटिभ आएको सन्देश त्यही प्राप्त गरे। उनलाई यस्तो अवस्थामा झन मेरो सपोर्ट्को जरुरत हुन्छ भनेर र किन आफूले यत्तिको अवस्थामा बेड ओगटेर अरु म भन्दा सख्त अवस्थाका लागि बेडको अभाव हुन दिनू ? भनेर बरु चाहिए घरमै अक्सिजनको जोहो गरेर बस्छु भनेर फिजिसियन चिकित्सक साथीहरुलाई कन्भिन्स गरेर त्यही राति घर फर्किए।

असोज १३ मंगलबार – छैठौं दिन: बिहान उठ्दा फ्रेस जस्तो लागेर त्यही समाचार संचार गरे । तर दिउँसोतिर असजिलो भएकोले ज्वरो नाप्दै अक्सिजनको मात्रा हेर्दा ८८-९० प्रतिशतले अत्यास पार्ने बनायो। बीच-बीचमा अक्सिजन लिँदा ९५-९६ प्रतिशत देखियो। श्रीमतीसँगको कुराकानीमा मलाई फेरि अस्पतालको मनिटरिङ चाहिएकोले त्यतै पठाउन साथीहरूबाट सुझाव भयो। मैले भने आजको दिन यसै घरमै पर्खिने निर्णय गरे।फोन स्वीच  अफ गरेको थिए । खोकी र आवाजको चिड्चिडापनले सताएकोले।

असोज १४ बुधबार: स्थिति हिजोको जस्तै हुँदा श्रीमतीको फोनमा चिकित्सक साथीहरूबाट बुझ्ने काम भयो। मैले खोकि र कमजोरीको कारण बोल्नमा अरुचिको कारण फोन  स्वीच अफ गरेको थिए। घरमा बसेर यस्तो अस्थीर अवस्थामा हुनु खतरा हुने र बरु काठमाडौतिरको बिकल्प रोज्नुपर्छ कि भनेर साथीहरूले भने । म सकेसम्म काठमाडौं जाने सोंचमै थिइन। त्यसो हो भने आफैँ अक्सिजन कम भएको अवस्थामा गाडी चलाएर आउन भएन ।

बरु एम्बुलेन्स पठाइदिन्छौं अक्सिजनसहित, तुरुन्तै अस्पतालमै आइसोलेशनमै चिकित्सक र नर्सिङ स्टाफको निगरानीमा रहने गरी आउनुस् भन्ने सुझावका आधारमा अस्पतालमा पुगे।एम्बुलेन्सको साइरेनसितै अस्पतालतिर आफैं अस्पताल प्रमुखलाई घुँइक्याइदा कस्तो लागे होला ? कल्पना बाहिरको कुरा। त्यहाँ १० जना संक्रमित स्टाफहरु स्वास्थ्य लाभ गरिराखेका, डाक्टरदेखि क्लिनरसम्मका। सबैले मेरो आगमनले थप उर्जा पाएको महशुस गरे सायद । मलाई बिशेष ध्यान दिए। औषधि पनि चल्यो, खानपिनमा खुब जोड दिए।

असोज १५ बिहीबार: मोनिटरिङ्मा रहियो। खानामा जोड गर्ने स्टाफहरुले मलाई खानाको कुरै नभए हुन्थ्यो लाग्ने। त्यस दिन बेलुकी अशुभ समाचारले संजालहरु भरिएका थिए। कोरोना संक्रमित चिकित्सक डा‍.हरि सापकोटा जो नेपालगन्ज अस्पतालमा उपचाररत हुनुन्थ्यो । उहाँ दिउँसो बित्नु भएछ। हरि दाई मैले चिनेको मान्छे । केहि समय उहाँसँग अध्ययनकालमा अर्थोपेडिक्स ट्रेनिङ्मा सँगै थिए ।  पछि वीर अस्पतालको क्वाटरमा नजिक बस्ने मौका मिलेको थियो। बिरक्त लाग्यो सुन्दा र बुझ्दा। बेलुकी नै हाम्रो अस्पतालका एकजना माया गर्ने सिनियर डाक्टर साबले आफ्नो एउटा अनुरोधलाई इन्कार नगर्न भन्दै श्रीमतीसहित काठमाडौतिरको नाम चलेका अस्पतालमा उपचार गर्दा सुरक्षित हुने सल्लाह दिनुभयो। यहाँ अतिरिक्त जोखिम लिँदा आफूहरुलाई पनि मेरो कारणले तनाव भएको भन्नुभयो। मैले हुन्छ डाक्टर साब म भोलि बिहानसम्म बिचार गर्छु भने।

असोज १६ शुक्रबार: आज मलाई भने अलिक सुधार भएजस्तो महशुस भयो। अक्सिजनको मात्रा ९४-८५ प्रतिशतमा चढ्यो। ज्वरो कम भयो। खोकि भने थियो। एकपटक बेलुकी छातीको सीटी स्क्यान गर्ने कुरा भयो । त्यसपछि योजना तय गर्ने कुरा भयो। बेलुकीको सीटी स्क्यानले फोक्सोमा कोरोना भाइरसले शुरु अवस्थामा आक्रमण गरेका दागहरु देखिए । तर त्यति सख्त अवस्थाका भने थिएनन् । म आफैं रेडियोलोजिस्ट भएकोले अझ बढी बुझें पनि। लक्षण देखिएको ९ दिनसम्म यस्तो अवस्थामा पाइएकोले अब नबढ्लान र अक्सिजनको मात्रा पनि ठिकै अनि आफूलाई पनि अलिक आराम भएको महशुसले आजको राति अस्पतालमै भए पनि भोलि बिहान घर जानुपर्ला भन्ने सोंचे। साथीहरूसँग कुरा राखे। हुन्छ भोलि बिहानसम्म राम्रो भए जान हुने कुरा आयो।

असोज १७ शनिबार: म बिहान सुधारोन्मुख अवस्थामा सबै मेरो सेवामा खटिएका स्टाफहरुलाई धन्यवाद दिई घर फर्किए। सुख्खा खोकिले बेला-बेलामा दु:ख दिएपनि समग्रमा सुधार भएको छ। खानाको स्वाद र नाकले थाहा पाउने गन्धमा अझै बद्लाव छ। बिस्तारै सुधार होला।

असोज १८ आइतबार: आज ११ औं दिन लक्षण देखिएको। भाइरसको लोड पनि बढि भएको कारण र अस्पतालको काममा मेरो अनुपस्थितिको कारण धेरै काममा अप्ठ्यारो भैराखेको बुझेकोले पनि स्वाब टेस्टमा पठाइयो। रिपोर्ट फेरि पोजिटिभ आयो तर अरुलाई नसर्ने लेभलतर्फ उन्मुख। ठूलो छोराको पनि रुघा जस्तो र टाउको दुखिराखेको कारणाले टेस्ट गरेको उसको पनि पोजिटिभ ।

परिवारका सक्रिय सदस्य हरु संक्रमित हुँदा खानादेखिको आपूर्तिसम्मको ब्यवस्थापन डामाडोल हुँदोरहेछ। निगेटिभ नआउन्जेल आइसोलेशनमा रहनै पर्यो। शरीर पनि शक्तिबिहिन भएको छ। एउटा प्राणबायुमा भएको अक्सिजन रगतमा नपुगेर र अर्को मुखबाट खाना गएकै छैन उर्जा कसरी होस्। उर्जा नभएपछि झन खानामा अरुचि र केही पनि गर्न मन नलाग्ने चक्र बृत्त । बाहिरबाट आउने ध्वनिप्रति चिड्चिडाहट, प्रकाश कोठाभित्र नपसोस् भन्ने, अलग्गै गन्धले सबै बितृष्णा।यस्तै भैराख्यो अरु ५ दिन। अक्सिजनको मात्रा ९५ प्रतिशतभन्दा माथि नै रह्यो।

असोज २२ बिहिबार: आज १४ दिनको टेस्टमा पीसीआर रिपोर्ट निगेटिभ आयो। तर शरीर उर्जाबिहिन भएर कमजोर छ । ५ के जी तौल कम भएछ। खाना कसरी बढाउने तनाव छ ।  रुचि नहुने, खानाको स्वादै अलग छ । नाकले थाहा पाउने गन्ध अलग छ- कति ज्याद्रो भाइरस रैछ। फलफूलको स्वाद भने ठिकै रहेको र सकेसम्म तेल नहालेको र मसला प्रयोग नभएको तरकारी भए हुन्थ्यो भन्ने लाग्छ ।  यिनैले भए पनि शरीर धान्नु छ। बिस्तारै शक्ति आएजस्तो भयो। शारीरिक अभ्यास पनि गर्न थालेको छु। अब भने जोखिमबाट पूरै बाहिर छु लागेको छ। खोकीले राति सुत्न दिन्न , कम भने छ।

असोज २६ सोमबार: आज भने १८ दिनपछि थोरै समयको लागि भए पनि अस्पताल गए।अस्पताल धेरै मिस गरेछु। धेरै कागजातमा सहि गर्नुपर्ने तलबदेखि खर्चहरुको भुक्तानी दिनुपर्ने बाध्यता छ।दशैंको मुख छ। अत्यास लाग्दो खर्च छ, दैनिक ९० वटासम्मको सिलिन्डरको खपत कोभिडका बिरामीको लागि। पीपीई र औषधि त कति हो कति खपत। बिरामीहरु भरिएका छन् धागो कारखानाको कोभिड आइसीयू र आइसोलेशनमा, त्यसरी नै अस्पताल परिसरमा रहेको प्री- (फिभर)आइसोलेशनमा। स्टाफहरु पनि १०० जनाभन्दा बढी संक्रमित भएर अस्पतालमा राख्ने ठाउँ छैन।अप्ठ्यारो देख्छु। पीसीआर टेस्टको लागि भिड जमेकै छ। माननीय भन्ने देखि चिनेजानेका सबैले फोनबाट बेड मिलाइदिनु न भनेर आग्रह गर्नुहुन्छ। यो बसको सीट मिलाएजस्तो बुझ्नुहुन्छ कि भनसुनको चलनले काम पो गरिहाल्छ कि भनेर हो ? बिरामीको लागि घर बनाइदिने, बेड बनाइदिने, उपकरणको ब्यवस्थापन गर्दिने आवश्यक जनशक्ति दिने काम मुख्यत उहाँहरुको हो र त्यहाँ काम गर्ने सेवा गर्ने काम हाम्रो हो। अस्पताल र धागो कारखाना को आइसोलेशन बिच बिरामी र सब बोक्ने प्रहरीका एम्बुलेन्स ड्राइभरहरु संक्रमित भएर उपचाररत छन् । तर अर्को ड्राइभरको टोली पाइएको छैन। सबैले आफ्नो काम गर्दिए पुग्थ्यो खालि दोषजति अरुलाई दिएर आफू पन्छिएर हुन्छ र। गर्न सक्ने जति त गरेकै छौं हामीले । अस्पताल प्रबेश गर्दा अपाङ्ग, अशक्त ,गरीब र बोल्न नसक्ने बेसहारा बिरामीहरुलाई सजिलो सिस्ट्मले काम गरोस्, सख्त अवस्थाका बिरामीलाई बिना झन्झट बेड्मा राखेर सुरक्षित तवरबाट उपचार गर्न सकियोस्। बिरामीको जीवन फर्केर आएको खुशी देख्न पाइयोस्, मुस्कानसहित अस्पतालको सिस्टमप्रति आभार ब्यक्त गर्दै घरतर्फ जान सकून् भन्ने मात्र मेरो चाहना हो।

आजै बिहान मलाई माया गर्ने नातामा बुवा भन्दै मैले सम्बोधन गर्ने ७ दशक पार गरिसकेका ब्यक्ति भेट्न घरमै आउनुभयो। उहाँसँग समसामयिक कुराहरु भए । बुवाले मलाई क्लान्त अवस्थामा पाउँदा भन्नुभयो “यो प्रशासनिक पोस्ट सम्हाल्नुभन्दा त बाबुले अब आरामले आफ्ना अनुभवलाई समेटेर शिक्षाप्रद लेखनतिर जाँदा ठिक हुन्छ होला । कहाँ दवाबै दवाबको तनाव कहाँ लेखेर पाठकसमक्ष आनन्दले पस्किने काम। कलम पनि सलल्ल बग्दो रहेछ। कति बर्ष झेल्नुपर्ने हो यसको कहर ? ” बुवाले माया गरेर भन्नुभएको कुरालाई स्विकारे र भने,”कहिलेकाहीँ कुनै ठाउँ को बिकास हुन केहि कुराको संयोजन हुनुपर्छ, जस्तै: संकल्प, संकट, संयोग,समय। यस्तैमा केहि पो फरक पार्न सकिन्छ कि र यहाँका मान्छेले पनि सम्झिइनेमा परिन्छ कि भन्ने एउटा इच्छा हो बुवा, त्यसबाहेक केहि स्वार्थ्य छैन।त्यसैले लागिपरेको हो।

नत्र म जस्तो प्राबिधिक क्षेत्रको डाक्टरलाई आफ्नो आनन्द त आफ्नो विषय विज्ञतामा हुन्छ। लेख्ने कुराको आनन्द त अझ अलग्गै। अब त यहीँ अस्पतालमा जन्मेका र यहींको पहिलो प्राणबायु लिएका नयाँ पुस्तालाई जिम्मा दिने पक्षमा छु। हेरम बुवा के हुन्छ ?” दिउँसो ८९ वर्षमा चलिराख्नुभएको मेरो आफ्नै बुवालाई भेट्न गाउँमा पुगे। बुवाले देख्नलाई धेरै दिनदेखि निरस लागेको भन्दै हुनुहुन्थ्यो ।आफूलाई पनि १ हप्ता जति ज्वरोले अप्ठ्यारो पारेको सुनाउनु भयो ।

२ दिन भएको ठिक भएको भन्नुभयो । मैले बुवाको बारेमा बिरामी अवस्थामै सबै थाहा पाएको थिए । तर घरबाट बाहिर ननिस्किने र बाहिरबाट मान्छेहरू न आउने हुँदा कोरोना संक्रमणको जोखिम त थिएन। तर समुदायमा पुगेको कोरोनाको के भर ? भन्ने पनि लाग्ने।धन्न ठिक भएछ ।  बुझ्दा कोरोनाका अन्य लक्षण थिएनन् । ढुक्क भए। मलाई बिसन्चो भएको तनावले पनि बुवालाई अप्ठ्यारो भएको हो कि जस्तो लाग्यो। अब चुनौती धेरै छन् ।आत्तिएर पनि भएन। आम जनता कोरोनाको बारेमा अनुशसित भैँदिए स्वास्थ्यकर्मिहरुलाई धेरै दवाब झेल्नु पर्दैनथ्यो। नत्र त नदेखेका भगवान भरोसा भन्नुबाहेक के छ र ! सबै मेरो स्वास्थ्य प्रति चिन्तित शुभेच्छुकहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। आफूलाई सुरक्षित राख्नुहोला।

(डा.खनाल लुम्बिनी प्रादेशीक अस्पतालका प्रमुख हुन् )


  •  
  •  
  •