नेपालमा थप तीन हजार ५५६ जनामा कोरोना संक्रमण, एक हजार ५०३ जना डिस्चार्ज

६६ को भेन्टिलेटर, ३०७ जनाको आईसीयूमा राखेर उपचार
82
  •  
  •  
  •  

काठमाडौं । नेपालमा मंगलबार थप तीन हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टायता देशभर तीन हजार ५५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको बताए । योसँगै देशभर कुल संक्रमितको संख्या एक लाख १५ हजार ३५८ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३५ हजार ९१५ रहेको छ । पछिल्लो २४ घण्टामा एक हजार ५०३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ७८ हजार ७८० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६८ दशमलव ३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १५ हजार ५७७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ७ हजार ९१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १५ हजार ४८ जना र होम आइसोलेसनमा २० हजार ८६७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ७९५ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ६६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३०७ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यसअघि सोमबार देशभर चार हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने एक हजार ४७३ जना डिस्चार्ज भएका थिए ।


  •  
  •  
  •