नेपालमा थप १५७३ जनामा कोरोना संक्रमण, ८८५ जना डिस्चार्ज

३३ भेन्टिलेटर र २२५ जनाको आईसीयूमा राखेर उपचार
81
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप एक हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टायता देशभर एक हजार ५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै हाल कुल संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ । आइतबार थप ८८५ जना डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार ८९८ पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १० हजार १२३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ९ लाख ८८ हजार ३२७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ८ हजार ३२१ जना र होम आइसोलेसनमा १० हजार ६९८ जना रहेका छन् । आजसम्म देशभर ६ हजार २८१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ३३ कोरोना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २२५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यसअघि शनिबार देशभर एक हजार २०७ कोरोना संक्रमित थपिएका थिए भने एक हजार १४७ जना डिस्चार्ज भएका थिए । शनिबार कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •