७१ वर्षको उमेरमा सम्बन्ध विच्छेद भएपछि…

271
  •  
  •  
  •  

रोल्पा, १ चैत (ओएनएस) : रोल्पाको साविकको राङ्कोट गाविस–५, स्थित एक दम्पत्तीले ७१ वर्षको उमेरमा सम्बन्ध विच्छेद गरेको छ।

स्थानीय ७१ वर्षीया हस्तमाली वली र उनका ७१ वर्षीय श्रीमान् पञ्चबहादुर वलीबीच जिल्ला अदालत रोल्पाबाट सम्बन्ध विच्छेद भएको हो।

जिल्ला न्यायाधीश वासुदेवलाल श्रेष्ठको इजलासले वली दम्पतीको सम्बन्ध विच्छेदको फैसला सुनाएको हो।
मुद्दा फाँटका डिट्ठा भीमराज ढकालका अनुसार जिल्ला अदालत रोल्पाले मुलुकी ऐन लोग्ने स्वास्नीको महलको १ नं को देहाय २ बमोजिम सम्बन्ध विच्छेदको फैसला गरेको हो। वृद्धा वलीले अंश माना चामल दाबी नगरी शुद्ध सम्बन्धविच्छेद गरेकी थिइन्र्नु।

हस्तमालीको राङ्कोट–४ कोरल निवासी स्वः दलसर रोकासँग यसअघि मागी विवाह भएको थियो।

पहिलो श्रीमान् रोकाबाट हस्तमालीका सन्तान भएनन्। रोकाको निधन भयो। यसरी एक्लो जीवन बिताउँदै आएकी हस्तमालीले ४८ वर्षको उमेरमा पञ्चबहादुर वलीसँग २०५१ सालमा आफूखुशी प्रेम विवाह गरिन।

विवाहपछि वली दम्पतीबाट एक छोरीको जन्म भएको र उनको पनि विवाह भइसकेको छ।

जिल्ला अदालत रोल्पामा पीडितले दिएको निवेदन उजुरीअनुसार विवाहपछि दोस्रो श्रीमान् पञ्चबहादुरले आफूलाई अनावश्यक रुपमा गाली गर्ने, कुटपिट गर्ने, खान लगाउनमा अपहेलना गर्ने, कामधन्दामा मात्र लगाई श्रम शोषण गर्ने, शारीरिक एवं मानसिक रुपमा यातना दिने गरेको उल्लेख छ।

जिल्ला न्यायाधीश श्रेष्ठका अनुसार पीडितले २०७३ फागुन १२ गते सम्बन्धविच्छेदका लागि जिल्ला अदालत रोल्पामा निवेदन दिएकी थिइन।


  •  
  •  
  •