न्यायाधीश र राजदूत नियुक्ति कहिले ?

259
  •  
  •  
  •  

काठमाडौं १ जेठ ।
सर्वोच्च अदालतमा रिक्त पद पूर्ति गर्न न्याय परिषदले सिफारिस गरेका ११ न्यायाधीशमाथि सुनुवाइ कहिले हुने भन्ने अनिश्चय बढेसँगै सिफारिसमा परेकाहरूको दिकदारी पनि बढिरहेको छ । परिषदले पुनरावेदनका सात र अधिवक्ताहरूबाट ४ जनालाई सर्वोच्चको न्यायाधीशका लागि फागुनमा सिफारिस गरेको थियो । त्यसपछि सिफारिसमा परेका न्यायाधीशहरूले मुद्दा हेरेका छैनन् र अधिवक्ताहरूले मुद्दा लडेका पनि छैनन् ।

कानुनअनुसार सिफारिसमा परेकाहरू भएको कामबाट अलग बस्ने र गरिरहेको जागिर पनि छाड्ने प्रावधान पूरा गरेर बसेका छन् । त्यसको एक उदाहरण हुन् हरिकृष्ण कार्की । बारको अध्यक्ष हुँदै उनलाई प्रधानमन्त्री केपी ओलीले महान्यायाधिवक्ता बनाएपछि उनले बारबाट राजीनामा दिए । बारबाटै सिधै महान्यायाधिवक्ता बन्ने सौभाग्य पाएका कार्कीलाई महान्यायाधिवक्ताबाट फेरि सर्वोच्चमा फाल हाल्ने अर्को सौभाग्य जुरायो न्याय परिषदको सिफारिसले ।

यसरी लगातार एकपछि अर्को फडको मारेको भनी बधाई खाइरहेका कार्कीले सिफारिस हुने दिनमा नै महान्यायाधिवक्ताको पदबाट राजीनामा दिएका थिए ।

उनले राजीनामा दिएको अढाइ महिना भइसक्यो नियुक्ति भने पाएका छैनन् । उनका ठाउँमा अधिवक्ता हरि फुयाल महान्यायाधिवक्ता नियुक्त भइकन निकै काम पनि सम्हालिसके । कार्की भने न पहिलेजस्तो वकालत गर्न सक्ने अवस्थामा छन् न सरकारी मुद्दामामिला हेर्ने हालतमै ।

त्यस्तै हालत सिफारिसमा परेका वरिष्ठ अधिवक्ताहरू प्रकाश राउत र अनिल सिन्हाको पनि छ । चलेका मानिएका दुवै अधिवक्ताहरू अहिले मुद्दामामिला हेर्न नपाउने स्थितिमा छन् । एकातिर सर्वाेच्चमा मुद्दाहरू चुलिँदै जाने, अर्कातिर न्यायाधीशको सिफारिस हुँदा पनि नियुक्त हुन नसक्ने स्थितिले यतिखेर न्यायपालिका आक्रान्त छ ।
कान्तिपुरबाट


  •  
  •  
  •