‘अदालत एकान्तवास होइन’

555
  •  
  •  
  •  

काठमाडौं २१ चैत । पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश केशरीराज पण्डितले अदालत एकान्तवास नभएकाले समाजसँगै घुलमिल गरी न्याय सम्पादन गर्नुपर्ने धारणा राखेका छन् । ‘न्यायाधीश अदालतभित्रै सीमित रहनुपर्छ भन्ने मान्यतामा फेरबदल आइसकेको छ’, ललितपुर जिल्ला अदालतले शुक्रवार आयोजना गरेको पूर्व न्यायाधीशहरुसँगको अन्तक्रिर्यामा पण्डितले भने- ‘न्यायाधीश एक्लो यात्री हुन सक्दैन । समुदायभित्र भिज्न सकेन भने न्याय मर्न सक्छ ।’

कार्यक्रममा सहभागी कतिपय न्यायाधीशले न्यायिक भ्रष्टाचारबारे बार र बेञ्चबीच तथ्य र प्रमाणका आधारमा बहस हुन नसकेमा असन्तोष राखे । ‘आफै-आफैमा जुहारी खेल्ने काम मात्र भएको छ । के यसले भ्रष्टाचार नियन्त्रण हुन्छ ?’, पुनरावेदनका पूर्व न्यायाधीश जनार्दन खडाले प्रश्न उठाए-‘अमूर्त जुहारीले समाधन दिदैन ।’

अर्का पूर्व न्यायाधीश भोला खरेलले विचौलियाका कारण अदालत विवादमा पर्ने गरेको बताए । ‘फैसला कस्तो हुदैछ भन्ने कुरा विचौलियाले बुझिराखेको हुन्छ । त्यसमा अदालतभित्रैका व्यक्तिको पनि हात हुन सक्छ’, खरेलले भने-‘त्यसलाई रोक्न न्यायाधीश सदैव सजग हुनुपर्छ ।’

कार्यक्रममा ललितपुर जिल्ला न्यायाधीश टेकनारायण कुँवरले जनतालाई झगडियाका रुपमा नभै सेवाग्राहीका रुपमा बुझ्नुपर्ने, म्यादभित्रै सुनुवाई र फैसला गर्नुपर्ने, जनताको पहुँचभित्र रही न्यायिक सम्पादन गर्नुपर्नेलगायत धारणा राखेका थिए ।

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सुशिला कार्कीले अवकास पाइसकेका न्यायिक जनशक्तिबाट पनि राज्यले उपर्युक्त काम लिन सक्नुपर्ने धारणा राखेकी थिइन । ‘अवकास हुनु भनेको बुढो हुनु होइन । सेवानिवृत भइसकेका व्यक्तिले पनि राज्यलाई पर्याप्त टेवा पु्र्‍याउन सक्छन । तर, हामीकहाँ यो प्रचलन कमै छ’, कार्कीले भनिन् ।

कान्तिपुरबाट


  •  
  •  
  •