सर्वोच्चमा सर्वाधिक मुद्दा

61
  •  
  •  
  •  

काठामाडौं १ फागुन । सर्वोच्च अदालतले राष्ट्रपति रामवरण यादवसमक्ष बिहीबार आर्थिक वर्ष २०७०/०७१ को वार्षिक प्रतिवेदन पेस गरेको छ। प्रधानन्यायाधीश रामकुमारप्रसाद साहले राष्ट्रपतिसमक्ष उक्त प्रतिवेदन प्रस्तुत गरेका हुन्।

प्रतिवेदनअनुसार यस आर्थिक वर्षमा मुद्दाको लगत अहिलेसम्मकै सर्वाधिक २४ हजार सात सय ३५ थान रहेको छ। सर्वोच्चका सहायक प्रवक्ता बाबुराम दाहालले मुद्दाको यो लगत अहिलेसम्मकै सर्वाधिक रहेको बताए।

गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका मुद्दा संख्यासहितको हो यो तथ्यांक। उक्त लगतमध्ये पाँच हजार नौ सय ४६ फस्र्योट भएको छ। यो २४.०४ प्रतिशत फस्र्योट हो।

अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष सर्वोच्चमा एक हजार पाँच सय ८६ (३.०९ प्रतिशत) बढी मुद्दा फस्र्योट भएको छ। अघिल्लो आर्थिक वर्षमा सर्वोच्चमा मुद्दाको कुल लगत २० हजार आठ सय ११ थान रहेको थियो। त्यसमध्ये चार हजार तीन सय ६० (२०.९५ प्रतिशत) फर्स्योट भएका थिए।

पुनरावेदन अदालतमा यस आर्थिक वर्षमा मुद्दाको लगत ४१ हजार आठ सय ५२ मध्ये २९ हजार ७० थान (६९.४६ प्रतिशत) फस्र्योट भएको छ। यो संख्या गतवर्षभन्दा ७.४८ प्रतिशतले बढी हो। जिल्ला अदालतमा कुल मुद्दा एक लाख १० हजार ६ सय २९ मध्ये ६८ हजार ४८ (६१.५१ प्रतिशत) किनारा लागेको छ।

यो अघिल्लो वर्षभन्दा ६.०७ प्रतिशतले बढी हो। अन्य न्यायाधीकरणमा दुई हजार ८ सय १० मध्ये ८ सय १४ थानमात्र फस्र्योट भएको छ। यो संख्या गत वर्षभन्दा २.७८ प्रतिशतले कम हो।

यस आर्थिक वर्षमा दुई अर्ब तीन करोड ५४ लाख ५९ हजार सात सय ३० रुपैयाँ जरिबाना असुली भएको छ। कैदतर्फ २५ हजार एक सय १८ वर्ष एक महिना सात दिन असुल भएको छ।

सर्वोच्चले प्रतिवेदनमा न्यायपालिकाको स्वतन्त्रताको सुनिश्चितता, स्वायत्तता, रणनीतिक योजना कार्यान्वयनमा सहयोग, सूचनाप्रविधिको संस्थागत विकास, भौतिक संरचना निर्माण र सुधार, सुरक्षाप्रबन्ध एवं न्यायाधीशका लागि आवास सुविधा, कानुनी एवं कार्यविधिमा सुधार, कार्यबोझअनुरूप जनशक्ति आपूर्ति व्यवस्थापन, क्षमता विकास, आदेश, फैसला कार्यान्वयनजस्ता विषयमा चुनौती एवं समस्या रहेको भन्दै सुझाव पनि दिएको छ। अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •