न्यायपरिषद सदस्यमा क-कसको चर्चा ?

243
  •  
  •  
  •  

building1काठमाडौं २७ पुस (ओएनएस) : सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति प्रक्रिया अगाडि बढ्नासाथ न्यायपरिषद सदस्य उपेन्द्रकेशरी न्यौपानेले राजीनामा दिएपछि नेपाल बार एसोसिएसनले कानुनविदका हैसियतमा नयाँ सदस्य सिफारिसका लागि माघ ६ गते बैठक बोलाएको छ । न्यायाधीशको नियुक्ति, छानबिन, कारवाहीसम्म गर्ने अधिकार भएको स्वतन्त्र निकाय भएकाले न्यायपरिषद सदस्यलाई न्यायाधीशको पनि न्यायाधीश भनेर समेत चिनिन्छ ।

न्यायपरिषद सदस्यका लागि अहिले थुप्रै कानुन व्यवसायीको नाम चर्चामा छ । अहिलेको बार कार्य समितिमा नेपाली कांग्रेसनिकट वकिलहरुको बहुमत भएकाले कांग्रेसनिकट वकिल नै सिफारिस हुने एक पदाधिकारीले जानकारी दिए ।

कोको चर्चामा

चर्चामा रहेकामा यज्ञमूर्ति बन्जाडे, रामप्रसाद सिटौला, प्रेमबहादुर खड्का र शेरबहादुर केसी छन् । बन्जाडे पूर्वमहान्यायाधिवक्ता र बारका पूर्वउपाध्यक्ष हुन् । उनी निष्ठावान र र भलाद्मी मानिन्छन् ।

सिटौला पहिला सर्वोच्च अदालतको न्यायाधीशमा चर्चा भएका, झोँकी र खरो स्वभावका मानिन्छन् । खड्का पूर्वअध्यक्ष हुन् । उपेन्द्रकेशरी न्यौपानेलाई न्यायपरिषद सदस्य सिफारिस गर्दा खड्का नै अध्यक्ष थिए । न्यौपाने रहेक विवादित कामको अपजस खड्काले पनि पाउने गरेका छन् । नियुक्तिकै बेला खड्काले अदालतमा नियमित बहस नगरेका, बढी राजनीतिक र कम कानुनी पृष्ठभूमि भएका र कनिष्ठ व्यक्तिलाई सिफारिस गरेको भन्दै आलोचना खेपेका थिए ।

केसी नेपाल बारका पूर्वउपाध्यक्ष हुन् । कांग्रेसमा उपेन्द्रकेशरी न्यौपाने र उनी एउटै खेमाका हुन् । यी दुवै खुमबहादुर खड्का समूहका मानिन्छन् ।

कांग्रेसनिकट कानुन व्यवसायीहरुमा पनि दुई गुट रहेको छ, कोइराला र देउवापक्ष । दुई गुटका अलगअलग डेमोक्रेटिक लयर्स एसोसिएसन छन् ।
यी दुई गुटबीच कुरा नमिल्दा सबै पक्षलाई मान्य हुने भन्दै कमलनारायण दासको नाम सिफारिस हुन सक्नेछ । दास सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन् । उनी भरतराज उप्रेती लगायत न्यायाधीशहरुसँगै म्याद नथपेका कारण सर्वोच्चबाट बाहिरिएका थिए ।

कुनै पनि राजनीतिक कित्ता स्पष्ट नभएकाले दास बाम र गैरबाम दुवैका लागि मान्य हुन सक्नेछन् । दास नेपाल बारका पूर्वउपाध्यक्ष र सर्वोच्च बारका पूर्वअध्यक्ष पनि हुन् ।

न्यौपानेले राजीनामा दिएपछि तत्काल न्यायपरिषदले नयाँ व्यक्ति सिफारिसका लागि बारलाई अनुरोध गरेको छ । बारले पनि पत्र प्राप्त भएकै दिन बैठक बसी आगामी माघ ६ गते बैठक बसेर टुंगो लगाउने निर्णय गरेको छ ।

राजनीति

सर्वोच्चमा न्यायाधीश अभाव भएर सर्वसाधारणले सास्ती खेपिरहेका छन् । त्यसैले प्रधानन्यायाधीश रामकुमारप्रसाद साह र वरिष्ठतम न्यायाधीश कल्याण श्रेष्ठ जतिसक्दो छिटो न्यायाधीश नियुक्ति गर्ने जोडमा छन् । तर, माघ २ गते बस्ने तय भइसकेको नियमित बैठकलाई बारले थप चार दिन पर सारी ६ गते बोलाएको छ । त्यसैले बारका तर्फबाट ढिलो हुन्छ कि भन्ने आशंका पनि उब्जेको छ ।

उपेन्द्रकेशरी न्यौपाने आफै सर्वोच्च अदालतमा न्यायाधीश बन्न इच्छुक थिए । रामकुमारप्रसाद साह र कल्याण श्रेष्ठ खरो स्वभावका भएकाले न्यौपानेको प्रभाव न्यायपरिषदमा कम हुँदै थियो । न्यौपानेले अहिले राजीनामा दिएर न्यायाधीश नियुक्ति प्रक्रिया लम्ब्याउन खोजेको आरोप पनि छ ।

उनी नेपाली कांग्रेस पार्टीमा पनि प्रभावशाली रहेकाले आफूलाई न्यायाधीशमा सिफारिस गर्ने प्रतिबद्धता गराएर मात्र नयाँ व्यक्ति न्यायपरिषदमा पठाउने योजनामा रहेको कांग्रेसनिकट एक बार सदस्य बताउँछन् । नाम नबताउने सर्तमा ती सदस्य भन्छन्, ‘अहिलेका बार अध्यक्षसँग पनि न्यौपानेको राम्रो सम्बन्ध छ । आठ न्यायाधीश नियुक्ति प्रकरणमा केही दूरी बढेजस्तो देखिए पनि अहिले झन् निकटता बढेको छ ।’

हालका बार अध्यक्ष हरिकृष्ण कार्की पनि सर्वोच्च अदालतमा न्यायाधीशका लागि बारको सिफारिसमा परेका व्यक्ति हुन् । न्यौपाने र कार्की दुबैले चाहेमा हाल न्यायपरिषद सदस्य नियुक्तिको प्रक्रिया लम्बिन सक्ने ती बार सदस्यको भनाइ छ ।

नेपाल बारका उपाध्यक्ष टीकाराम भट्टराईले भने आगामी ६ गते नै योग्य व्यक्तिको टुंगो लगाएर न्यायपरिषदमा सिफारिस गर्ने बताए । महासचिव सुनील पोखरेलले पनि ६ गते नै टुंग्याउने ओएनएसलाई बताए । ‘सर्वसम्मत चयन हुन्छ । पहिलाजस्तो विवाद पनि हुँदैन,’ पोखरेल भन्छन् ।


  •  
  •  
  •