अज्ञात समुहले दियो प्रहरीलार्इ काउण्टर, प्रहरी सामुन्ने नै गोली प्रहार

88
  •  
  •  
  •  

काठमाडौं, १३ जेठ (अाेएनएस) : धनगढीको बीच बजारमा आइतबार विहान करिब १० बजे दुर्इ जनाको समूहमा आएका अज्ञात ब्यक्तिहरुले एक कर्मचारीलाई दिनदहाडै गोली हानेर रकम लुटिएको छ। अज्ञात समूहद्धारा गोली प्रहार गरी साढे ९ लाख रुपैयाँ समेत लुटिएको हो ।

सिद्धार्थ बैंकबाट रकम लिएर आर्इएमर्इ जाने क्रममा धनगढी ३ बस्ने ३७ वर्षीय निर्मल कार्कीमाथि गोली प्रहार भएको प्रत्यक्षदर्शी अनिल बमले बताए।

छाती र पाखुरामा २ गोली लागेर घाइते कार्कीको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

गोली लागेर घाइते निर्मल कुमार कार्कीले आफू गोली लागेर ढल्दा पनि नजिकै रहेका प्रहरी र स्थानीयवसी समेत रमिते बनेको बताए । प्रहरीले घटनास्थलबाट पेस्तोलको गोली बरामद गरेको छ । गोली हान्ने अज्ञात समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घाइते निर्मलको बयान :

मेरो नाम निर्मल कुमार कार्की हो । म आईएमईमा काम गर्छु । हरेक दिन बिहान बैंकमा पैसा लिन आउँथें । आज बिहान पनि पैसा लिन आएँ । सिद्धार्थ बैंकबाट पैसा लिएर फर्किंदै गर्दा मूल सडकमै मलाई गोली हानेर लुटियो ।

पैसा लिएर आईएमईको कार्यालय जाँदै थिए, मलाई पिछा गर्दै आएका दुई जनाले मूल सडकमै मलाई गोली प्रहार गरे । उनीहरुले मलाई गोली हानेर मेरो साथमा रहेको साढे नौ लाख रुपैयाँ लुटेर लगे ।

गोली लागेपछि म ढलें । मोटरसाइकलमा रहेका दुई जना मध्ये एक जनाले मेरो साथमा रहेको झोला खोसेर लग्यो । छेउमै प्रहरीहरु थिए । सडकमा ओहोर दोहोर गर्ने मान्छे पनि थिए । वरिपरि पसलेहरु पनि थिए । तर सबै रमिते भए । कोही पनि मलाई जोगाउन आएनन् । म ढल्दा पनि मलाई उठाउन कोही आएन ।

लुटेराहरुले मास्क प्रयोग गरेकोले मैले उनीहरुलाई चिन्न सकिनँ ।


  •  
  •  
  •