काठमाडौं १५ मंसिर ।
बालबालिकालाई विभिन्न रोग र संक्रमणबाट जोगाउन सञ्चालन हुने खोप अभियानमा कार्यक्रम नै नगरी फर्जी विलका आधारमा बजेट दुरुपयोग हुने गरेको भेटिएको छ । स्वास्थ्य सेवा विभागका बाल स्वास्थ्य महाशाखामा खोप अभियान, सचेतना, तालिम, प्रचारप्रसार लगायतका नाममा कामै नगरी नक्कली विल प्रयोग भएको हो ।
बाल स्वास्थ्य महाशाखाका तत्कालिन प्रमुख तारानाथ पोख्रेलकै संलग्नतामा पोखरा, नेपालगञ्ज, विराटनगर, चितवन लगायतका ठाँउका होटलहरुको नक्कली विल प्रयोग भएको विशेष अदालतमा पेश भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । ‘ती ठाँउका होटल सञ्चालकहरुले उल्लेख गरिएको मितीमा त्यस्तो कुनै कार्यक्रम नै भएको थिएन भनेर मुचुल्का गरिदिएका छन्’ अख्तियारस्रोतले भन्यो, ‘यातायातका क्रममा प्लेनको नक्कली इ-टिकट प्रयोग भएको छ ।’ आर्थिक वर्ष २०६८/६९ र ६९/७० मा यसरी फर्जी विल प्रयोग भएको खुलेको छ ।
छानविन हुदा उडान नै नभएको हवाई सेवा प्रयोग गरेको भनी टिकट पेश गरिएको छ । फोटोकपी मेसिन नभएको स्टेशनरी र हल नभएको होटलबाट विल पेश भएका छन् । प्रयोग नभएको सरकारी सवारीसाधनमा पेट्रोल हालेको देखाइएको अख्तियारका एक अधिकृतले बताए । प्रयोगकर्ताको हस्ताक्षर नै नभएको सवारीसाधनको लगबुक प्रयोग भएको छ । ग्यास चुल्हो, रेगुलेटर र विक्री हुने पसलबाट स्टेशनरी सामान किनिएको छ । ‘५ वर्षअघि नै बन्द भएको होटलको विल भेटिएको छ’ ती अधिकृतले भने ।
पोख्रेलको संलग्नतामा कैलाली, नेपालगञ्ज लगायतका ठाउका होटलहरुमा हलभाडा शिर्षकमा बिल पेश भएको छ । स्थलगत छानविन हुदा ती होटलमा हल नै नभएको पुष्टि भयो । अर्का चिकित्सक श्यामराज उप्रेतीले स्विकृत गरेको भ्रमण आदेशबाट इथियोपिया भ्रमणमा गएको बेला पनि पोखराको फर्जी विल बनाई दोहोरो भुक्तानी निकालेको भेेटिएको छ ।
सार्वजनिक खरिद नियमावलीले ५ हजारभन्दा बढीको सामान खरिदका लागि अनिवार्य स्थायी लेखा नम्बर भएको कम्पनी छनौट गर्नुपर्ने व्यवस्था छ । तर बालस्वास्थ्य महाशाखामा कर कार्यालयमा दर्ता नभएको कम्पनीबाट एक लाख रुपैंयाभन्दा बढीको सामान खरिद भएको छ । फर्जी विलका लागि करमा दर्ता नभएको र्फमहरु उपयुक्त मानिन्छन् । कर्मचारीहरुले फोटोकपी मेसिन नै नभएको स्टेशनरीबाट समेत फोटोकपीको विल पेश गरेको आरोपपत्रमा उल्लेख छ । अधिकांश विलहरु पेस्की फस्यौटका क्रममा प्रयोग भएका छन् ।
विभागस्रोतका अनुसार, लेखा र महाशाखाको नेतृत्व गर्ने कर्मचारीहरुको मिलेमतोका कारण एकै पटक दर्जनौ फर्जी विलहरु स्विकृत हुनेगरेको छ । ‘कतिपय विलहरुमा एउटै व्यक्तिले हस्ताक्षर गरेर जवर्जस्ती मिलाएको हुन्छ’ स्रोतले भन्यो । एकै खालका शंकास्पद विलहरुलाई केन्दि्रय प्रहरी वित्रि विज्ञान प्रयोगशाखा महाराजगञ्जले पनि प्रमाणित गरेको छ । नमस्ते होटल चरिकोट, कर्नर होटल म्याग्दी, कस्तुरी होटल पर्वत लगायतका होटलको विलमा एउटै व्यक्तिको हस्ताक्षर भएको भन्दै प्रयोगशालाले विलहरु नक्कली रहेको प्रतिवेदन दिएको थियो ।
बाल मृत्युदर घटाउन र विभिन्न रोग तथा संक्रमणबाट जोगाउन दातृ निकायहरुको सहयोगमा स्वास्थ्य मन्त्रालयले खोप तथा भिटामिन वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ । विभागको बालस्वास्थ्य महाशाखाले खोप अभियानलाई प्रभावकारी बनाउन नियमित रुपमा स्थलगत निरिक्षण, अनुगमन, तालिम तथा अन्तरक्रिया गर्छ । ‘त्यही क्रममा कामै नगरी फर्जी विलका आधारमा रकम भुक्तानी गर्ने र बनिबनाउन प्रतिवेदन तयार गर्ने काम भएको हो’ अख्तियारस्रोतले भन्यो ।
बालस्वास्थ्य महाशाखामा ५ हजारभन्दा कम रकममा विल पनि उल्लेख्य मात्रामा रहेको अख्तियारस्रोतले बतायो । ती विलवारे छानविन नभएकाले अनियमितता पुष्टि भएका विलहरु ५ हजार भन्दा बढीका हुन् । पेट्रोल पम्प, होटल तथा स्टेशनरीका अन्य विलहरु पनि नक्कली भेटिएका छन् । सार्वजनिक खरिद ऐन पालना नगरेको, पेश गरेका शंकास्पद विलको छानविन नगरी फस्यौटका लागि सदर गरेको, मिलेमतोमा पेश भएका नक्कली विलको भुक्तानी दिएको आरोपमा महाशाखा प्रमुख पोख्रेल ६१ लाख ३८ हजार र निर्देशन श्यामराज उप्रेती ३३ लाख ९१ हजार रुपैंया भ्रष्टाचार गरेको अभियोगमा मुछिएका हुन् । उप्रेती र पोख्रेलको संलग्नतामा तयार पारिएको विलको भुक्तानी नै ९५ लाख रुपैंयाको हाराहारीमा छ । उनीहरु बाहेक थप १२ जना अधिकृतलाई प्रतिवादी बनाइएको छ ।
कान्तिपुरबाट