काठमाडौं १४ भदौ ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पदाधिकारीहरुले मदिरा सेवन गरेको विल विश्वविद्यालयबाट भुक्तानी गराएका छन् । उपकुलपति, रजिष्ट्रार लगायतका पदाधिकारीहरुले व्यक्तिगत काम र स्वार्थमा विश्वविद्यालयको बजेट दुरुपयोग गरेका हुन् ।
उपकुलपति पदमलाल देवकोटाले थकाली खाना, चिकेन लगायतका खाना र रुस्लान भोड्का सेवन गरेको विल विश्वविद्यालयबाट भुक्तानी गराएका हुन् । २०७० साल असार २७ गतेको मिती राखिएको ६० हजार ३० रुपैंयाको विलको भुक्तानी भइसकेको छ ।
विश्वविद्यालयको बजेट दुरुपयोग गर्ने देवकोटा एक्ला छैनन् । रजिष्ट्रार ठकेन्द्र प्रकाश गिरीले एउटा यस्तो विलको भुक्तानी गरेका छन्, जसमा तत्कालीन प्रधानमन्त्रीको सल्लाहकार पनि जोडिएका छन् । २०६९ भदौं ६ गते ८ हजार ६ सय रुपैंया भुक्तानी भएको विलमा ‘प्रधानमन्त्रीको सल्लाहकारसँग गणेश रावलले होटलमा वियर लगायतका खानेकुरा खाएको’ उल्लेख छ । त्यतिबेला प्रधानमन्त्री रहेका बाबुराम भट्टराईका को सल्लाहकारसँग मदिरा सेवन भयो भन्नेवारे रावलले विलमा खुलाएका छैनन् । गत असार ३२ गतेपनि बैंठकका नाममा ‘हृवीस्की पिएको र अन्य परिकार’ भनी बिल पेश छ ।
२०६९ असार मसान्तका दिन अर्को विल छ, जसमा ‘बैंठक’ शिर्षकमा विभिन्न रेष्टुरेन्टमा पेय पदार्थ चुरोट लगायतका नाममा २४ हजार रुपैंयाको विल भुक्तानी भएको छ । ‘हाफपाईन्ट र पेटिकोटदेखि परिवार नियोजनका अस्थायी साधन खरिदको खर्चको भुक्तानीमा समेत विश्वविद्यालयको बजेट दुरुपयोग भएको छ’ अख्तियारस्रोतले भन्यो ।
सबैभन्दा बढी बजेटको दुरुपयोग गर्ने उपकुलपति देवकोटाले मन्दिर प्रवेशको शुल्क, बडी स्प्रे, मोवाईल चार्जर र जुत्ताको पालिसको विल भुक्तानी गराएका छन् । मञ्जन, ब्रश, मोजा, सेभिङ मेसिन लगायतका सामानको विल करिव ३४ हजार रुपैंयाको छ ।
रजिष्ट्रार ठकेन्द्र गिरीले आँखा परिक्षण एवं आफन्तलाई रेष्टुरेन्टमा खाना खुवाएको ४५ हजार रुपैंयाको विल पनि विश्वविद्यालयबाट भुक्तानी गराएका छन् । ‘विश्वविद्यालयको लेखाका स्रेस्ता हेर्दा पदाधिकारीले आवास तथा दैनिक उपभोग्य सामानको विवरण उल्लेख गरेरै सम्भव नहुने खालको छ’ स्रोतले भन्यो ।
कान्तिपुरको सम्पर्कमा आएका विश्वविद्यालयका एक कर्मचारीका अनुसार, पदाधिकारीहरुको खर्चशैली कुनै एक र्फमका सञ्चालकको जस्तो स्वेच्छाचारी र मनोमानीयुक्त थियो । ‘उपकलपति एवं रजिष्ट्रार लगायतकै गैर कानूनी क्रियाकलापका कारण मातहतका पदाधिकारीहरुले पनि विश्वविद्यालय कोषमा लुट मच्चाएको देखिन्छ’ ती कर्मचारीले भने । उनका अनुसार, सामान्य अन्य सामान्य कर्मचारीहरुले पनि बैंठक, खाद्यान्न, भ्रमण लगायतका फर्जी विलमा बजेट खर्चेका थिए ।
उपकुलपति देवकोटा, रजिष्ट्रार गिरीका साथै सेवा आयोगका अध्यक्ष नवराज कणेल, लेखा नियन्त्रक कमल केसी, अनुगमन अधिकृत गगनसिंह बोहरा, उप-प्राध्यापक गणेश रावत, डिन रामचन्द्र अर्याल, सहायक प्रशासक पारसराम गिरी, सहायक प्रशासक जिवन कुमार थापा, उप-प्राध्यापक सुधन गौली लगायत विजया गिरी, नारायण गिरी, पुष्पा बंशी, सत्या थापा, रमेश चन्द्र, राधिका पनेरु, बसन्ता योगी, निरञ्जन कार्की, महेश शर्मा, जितेन्द्र श्रेष्ठ, हस्तमान सुनारले मनोमानी विल पेश गरेको छानविन प्रतिवेदनमा उल्लेख छ ।
कान्तिपुरबाट