साउदीमा कोरोना संक्रमित चार नेपालीमध्ये तीन जना निको भए

95
  •  
  •  
  •  

काठमाडौं । साउदी अरबमा कोरोना(कोभिड–१९)बाट संक्रमित ४ जना नेपालीमध्ये ३ जना निको भइ काममा फर्किएका छन् । साउदीस्थित नेपाली राजदूतावासका अनुसार उनीहरु राजदूतावाससँग सम्पर्कमा रहिरहेका छन् । थप नेपालीहरुमा संक्रमण भएको जानकारी प्राप्त नभएको राजदूतावासले जनाएको छ ।

बुधबारसम्म साउदी अधिकारीहरुले जारी गरेको तथ्यांक अनुसार साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या २ हजार ९ सय ३२ पुगेको छ । बुधबार थप १ सय ३७ जनामा संक्रमण भएका छन् । कूल संक्रमितहरु मध्ये हालसम्म ६ सय ३१ जना निको भएका छन् ।

साउदी स्वास्थ्य मन्त्रीले कोरोना नियन्त्रणको प्रयासमा सबैको साथ सहयोग भएमा मात्र सरकार सफल हुने र संक्रमित हुनेहरुको संख्या घट्ने उल्लेख गर्दै सरकारका प्रयासहरुमा सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।

केहि अध्ययन र सिफारिसहरुलाई उल्लेख गर्दै उनले सर्वसाधारणको सहयोग नभएमा साउदी अरबमा आउँदा केही हप्तामा कोरोना भाइरसको संक्रमण भयावह हुने र १० हजार देखि २ लाख जनामा यो संक्रमण फैलन सक्ने चेतावनी दिँदै सहयोगको अनुरोध गरेका छन् ।

राजदूतासले भने विदेशी नागरिकहरुसँग काम गर्दा, हिँडडुल, उठवस वा बजार गर्दा पूर्ण सावधानीका साथ गर्न, एक अर्काबीच दुरी कायम गर्न र कुनै पनि व्यक्ति वा सरसामानलाई अनावश्यक छुने वा स्पर्श नगर्न आग्रह गरेको छ ।


  •  
  •  
  •