एजेन्सी । चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३ सय ६१ पुगेको छ ।
सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या ३ सय ६१ पुगेको चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको बीबीसीले जनाएको छ । चीन बाहिर आइतबार फिलिपिन्समा पनि एक जनाको मृत्यु भएको थियो । तर ती व्यक्ति पनि चिनियाँ नागरिक हुन् ।
यस्तै थप ३ हजारमा कोरोना संक्रमण भएको पनि चीनको राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ । अब संक्रमितको संख्या चीनमा मात्र १७ हजारभन्दा धेरै भएको छ । चीनभन्दा बाहिर २४ देशमा गरी १ सय ५० जनामा कोरोना संक्रमण भएको पुष्टि भैसकेको छ ।
कोरोना भाइरसको कारण चीनको वुहान सहरमा यातायात तथा बजार सबै बन्द रहेका छन् । वुहानभन्दा बाहिरका शहरहरुमा पनि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएका छन् । ६० लाख जनसंख्या रहेको वुहानको पूर्वी सहरमा कोरोनाको प्रकोप अझै बढ्न सक्ने भन्दै स्थानीय सरकारले चेतावनी दिएको छ ।
चिनिया सरकारी सञचारमाध्यमले वुहान सहरबाट ७ लाखभन्दा धेरै मानिस वुहानमा नाकाबन्दी गर्नुअघि नै सहर छाडेर बाहिर गईसकेका बताएका बीबीसीले उल्लेख गरेको छ ।