होटललाई क्वारेन्टाइन र निजी अस्पतालमा आइसोलेसन बनाऔँ

138
  •  
  •  
  •  

हपछिल्लो समय कोरोना भाइरसको सम्भावित जोखिम भएका व्यक्तिलाई राख्न बनाइएको क्वारेन्टाइन मापदण्डविपरीत भएको, अहिलेसम्मका बनाइएका क्वारेन्टाइन पर्याप्त नभएको, विदेशमा रहेका नेपालीलाई ल्याएर कसरी व्यवस्थापन गर्ने भन्ने विषय चर्चामा छन्।

संसदमा पनि क्वारेन्टाइनको मापदण्ड पूरा गर्ने, मापदण्ड अनुसारका क्वारेन्टाइन बनाउने, विदेशमा रहेका नेपालीलाई ल्याएर व्यवस्थित तरिकाले राख्ने विषयमा छलफल भैरहेको छ।

गत मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरूको प्रश्नको जवाफ दिँदै नेपालमा ५७ हजार ९ सय ४ जनालाई राख्न सकिने क्वारेन्टाइनको क्षमता रहेको जानकारी दिए। त्यसमध्ये ३० हजार गुणस्तरीय र २३ हजार उपयुक्त खालको रहेको उनको भनाइ थियो।

बिहीबारसम्म २५ हजार भन्दाबढी व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ। यो तथ्याङ्कलाई हेर्दा नेपालमा भएका गुणस्तरीय क्वारेन्टाइन भरिन लागेका छन्। विदेशबाट फर्काइएका, फर्किनसक्ने नेपाली र शंकास्पद संक्रमण रहेका व्यक्तिलाई राख्न थप क्वारेन्टाइनको आवश्यक छ।

आइसोलेसन कक्षको क्षमता ३ हजार ३ सय ७ भएको भनिए पनि त्यसको गुणस्तरका बारेमा केही खुलाइएको छैन। बिहीबारसम्म ४ सय १ जना आइसोलेसनमा रहेकोमा संक्रमितको संख्या बढ्दै जाँदा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पर्याप्त तयारी भएको देखिँदैन।

विदेशमा रहेका र नेपाल फर्कन चाहनेको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ। सरकारले पनि विदेशमा रहेका नेपालीलाई फर्काउने प्रक्रिया सुरु गरेको छ। सबैभन्दा पहिला हाल समस्याग्रस्त मुलुकमा रहेका नेपाली कामदार, अन्य अलपत्र नागरिक र विद्यार्थीलाई स्वदेश फर्काउने भनिएको छ।

कोरोनासम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ लागू गरे पनि क्वारेन्टाइनको गुणस्तरमैं सरकारको ध्यान पुगेको छैन। खुल्ला ठाउँमा क्वारेन्टाइन बनाएका कारण तराईमा कोरोनासँगै लामखुट्टेका कारण अन्य रोगको समेत जोखिम बढेको छ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सरकारले कोरोना लगायतका संक्रामक रोगको निदान, रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रमा ३ सय शैया र प्रादेशीक रुपमा ५० शैयाको सरुवारोग अस्पताल बनाउने भनिए पनि निर्माण भई प्रयोगमा आउन समय लाग्ने नै छ।

तसर्थ अहिलेको अवस्थामा नेपालमा भएका होटललाई क्वारेन्टाइन र निजी अस्पताललाई आइसोलेसनको रुपमा प्रयोग गर्दा उपयुक्त हुन्छ। यसका केही आधार यहाँ उल्लेख गरिएको छ।

क) कोरोना भाइरस सम्बन्धी क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्ड २०७६ को ३ नम्बर बुँदामा सरकारी, संस्थान, सामुदायिक तथा सार्वजनिक भौतिक संरचना होस्टेल, तालिम केन्द्र, होटल, शैक्षिक संस्था, सरकारी संरचना क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने उल्लेख छ।

ख) होटल व्यवसायीको छाता संगठन होटल एसोसिएशन अफ नेपाल (हान) का अनुसार हानमा आवद्ध नेपालका करीब ३ हजार होटलका ४८ हजार बेड छन्। क्वारेन्टाइनको मापदण्ड नपुगेको कुरा आइरहेको बेला र ग्राहक नभएर ठूला होटल ६ महिनाका लागि बन्द गरिएको अवस्थालाई मध्येनजर गर्दा होटल नै क्वारेन्टाइनका लागि उपयुक्त देखिन्छन्।

ग) होटलमा भए राम्रो हस्पिटालिटीको व्यवस्था हुनेछ। खाना हाइजेनिक हुने र पर्याप्त शौचालय तथा खानेपानी सहित सरसफाइमा पनि ध्यान पुगेको हुनेछ। होटलमा टेलिभिजन, इन्टरनेट सहित मनोरञ्जनको लागि समेत राम्रो व्यवस्था हुन्छ।

घ) व्यक्तिगत सुरक्षा तथा स्वास्थ्यमा ख्याल गर्दै परिचालन गर्दा होटलले काम पाउने, रोजगारीको अवसर श्रृजना हुन्छ भने होटलमा कार्यरत मजदुर तथा होटल सञ्चालकलाई केही हदसम्म राहत मिल्नेछ।

ङ) केही स्वास्थ्यकर्मी, सुरक्षाकर्मी बाहेक अन्य सरकारी जनशक्तिको प्रयोग गर्न पनि नपर्ने हुन सक्छ। विपद् जोखिम व्यवस्थापनको क्षेत्रमा निजी क्षेत्रको संलग्नता पनि देखिन्छ।

च) होटल व्यवसायीले पनि न्यूनतम शुल्कमा सेवा उपलब्ध गराएर कोरोनाविरुद्धको लडाइमा सरकारलाई सहयोग गर्नुपर्छ। विपद् व्यवस्थापनमा सहयोग गर्नु होटल व्यवसायीहरुको कर्पोरेट सोशल रेस्पोन्सिविलिटी पनि हो।

छ) विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७४ को दफा २० मा सार्वजनिक संस्था तथा व्यावसायिक प्रतिष्ठानको दायित्व अन्तर्गत नेपाल सरकार, प्राधिकरण, प्रदेश सरकार, स्थानीय तह र प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार आफ्ना भवन लगायत अन्य संरचना आपतकालिन प्रयोजनका लागि आवश्यक परेमा उपलब्ध गराउने कुरा उल्लेख छ।

ज) ऐनकै दफा २१ मा सरकारी कार्यालय, गैरसरकारी संघ संस्था, स्थानीय संघ संस्था, समुदाय, स्वयंसेवक, नागरिक समाज, निजी क्षेत्र तथा व्यक्तिले विपद् व्यवस्थापनमा सहयोग गर्नु पर्ने कुरा उल्लेख छ। त्यसमा निजी क्षेत्रले पनि तथ्याङ्क संकलन, क्षतिको मुल्याङ्कन, राहत, पुनस्र्थापना तथा पुननिर्माण लगायतका विपद् व्यवस्थापन सम्बन्धी कार्यमा सहयोग गर्ने कुरा उल्लेख छ।

झ) क्वारेन्टाइनका लागि विश्व स्वास्थ्य संगठनले तोके बमोजिमको मापदण्ड पुरा गरी भवन लगायतका अन्य आवश्यक संरचना निर्माणका लागि ठूलो धनराशी खर्च हुन सक्छ। अस्पताल बाहेकमा आइसोलेशन कक्ष बजनउनका लागि भेन्टिलेटरसहितका स्वास्थ्य उपकरण लगायतको व्यवस्थापनका लागि राज्यले थप लगानी गर्नु पर्ने हुन्छ।

ञ) हामीले भएका संरचना लगायतका श्रोत साधनको अधिकतम प्रयोग गर्ने हो भने कम खर्चमा धेरै काम गर्न सकिन्छ। क्वारेन्टाइन तथा आइसोलेसनका निर्माण तथा व्यवस्थापनका लागि लाग्ने बजेटले कोरोना प्रभावितको लागि राहत तथा अर्थतन्त्रलाई चलायमान बनाउने अन्य काममा परिचालन गर्न सकिन्छ।

ध्यान दिनु पर्ने कुरा:
विदेशमा रहेका कोरोना संक्रमितलाई त्यहीँ देशका उपचार गरेर मात्रै स्वदेशमा ल्याउने व्यवस्था मिलाउनु पर्छ।
विदेशबाट ल्याएकालाई पनि अनिवार्य रुपमा क्वारेन्टाइनमा राखेर कोरोना परीक्षण गरेपछि मात्रै घर फर्काउनु पछ।
होटलसहित केही आवासिय विद्यालयका छात्रावासलाई पनि सरकारले क्वारेन्टाइनको रुपमा प्रयोग गर्न सक्छ।

कोरोनाविरुद्धको लडाइमा सरकारलाई असहयोग गर्ने निजी अस्पताल तथा निजी विद्यालयलाई न्यूनतम क्षतिपूर्ति दिएर राष्ट्रियकरण गर्नुपर्छ।

कोरोना महामारीसँगै निम्तन सक्ने अरु संकट (तराईका लागि बाढी, लामखुट्टेका कारण लाग्ने डेंगु लगायत कीटजन्य रोग, झाडापखाला लगायतका महामारी, चट्याङ, पहिरो, आगलागी लगायतका विपद्) को सामनाका लागि पनि हामी तयार हुनुपर्छ ।

कोरोना लगायतका महामारी तथा अन्य विपद् व्यवस्थापनका लागि स्थानीय तहका वडास्तरमै विपद् व्यवस्थापन समिति र कोषको स्थापना तथा परिचालन गर्नुपछ ।


  •  
  •  
  •