भारतमा कोरोना संक्रमण बढ्दा नेपालमा झस्को

170
  •  
  •  
  •  

काठमाडौं । भारतमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ । भारतमा पछिल्लो २४ घण्टामा कोभिड संक्रमितको संख्या फेरि बढेको हो ।

भारतमा २ हजार २२ जनामा कोभिड संक्रमण देखिएको छ । योसँगै कोभिडबाट संक्रमित हुनेको संख्या ४ करोड ३१ लाख ३८ हजार ३९३ पुगेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १४ हजार ८३२ रहेको छ । यो कुल संक्रमितको शून्य दशमलब ०३ प्रतिशत हो ।

मन्त्रालयका अनुसार कोभिडबाट निको हुने समग्र दर ९८ दशमलब ७५ प्रतिशत छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ४६ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ४५९ जना पुगेको छ । यसरी छिमेकी देश भारतमा कोरोना संक्रमण बढ्वदा नेपालमा पनि जोखिम बढेको देखिन्छ । भारतमा ओमिक्रोनको नयाँ भेरिएन्ट ‘बीए २.१२’ समेत देखिएको छ ।

नेपालमा भने सोमबार १० जना कोरोना संक्रमित थपिए । सो अवधिमा दुई हजार ७६८ जनाको कोरोना परीक्षण गरिएको थियो । दुई हजार २३३ जनाको पिसीआर विधिबाट र ५३५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सो अवधिमा १६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमण मुक्त हुनेको संख्या नौ लाख ६६ हजार ९९१ पुगेको छ । संक्रणमुक्त हुने दर ९८ दशमलव आठ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । हाल सक्रिय संक्रमितको संख्या १३३ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ । हाल होम आइसोलेशनमा १३३ संक्रमित छन् ।

हाल देशभर कोही पनि कोरोना सङ्क्रमित नभएका जिल्लामा ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, धनकुटा, पर्सा, सप्तरी, रौतहट, बारा, धनुषा, दोलखा, सिन्धुपाल्चोक, मनाङ, मुस्ताङ, म्याग्दी, बाग्लुङ, रुकुमपूर्व, कपिलवस्तु, प्युठान, जाजरकोट, जुम्ला, डोल्पा, हुम्ला, रुकुम पश्चिम, कालीकोट, मुगु, बाजुरा, दार्चुला, बझाङ र डडेलधुरा छन् । हाल काठमाडौंमा १९ र ललितपुरमा ११ कोरोना सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।

भारतमा देखिएको नयाँ भेरिएन्ट ‘बीए २.१२’ भने हालसम्म नेपालमा देखिएको छैन । नेपालमा हालसम्म ‘बीए २’ भेरिएन्ट नै देखिए पनि भारतको बिहार, नयाँदिल्लीलगायत ठाउँमा ‘बीए २.१२’ भेरिएन्ट पुष्टि भइसकेकाले चनाखो हुनुपर्ने चिकित्सहरु बताउँछन् ।

भारतको सीमावर्ती बिहार राज्यमा समेत ओमिक्रोन परिवारको ‘बीए २’, ‘बीए २.१०’, बीए २.१०.१’ र बढी खतरनाक मानिएको ‘बीए २.१२’, समेत पुष्टि भएको छ । दिल्लीमा यसअघि नै ‘बीए २.१२.१’ पहिचान भइसकेको छ ।
‘बीए २.१२’ भेरिएन्ट सबैभन्दा पहिले अमेरिकामा देखिएको थियो । यो भेरिएन्ट तेस्रो लहरको ‘बीए २’ को तुलनामा १० गुणा बढी खतरनाक रहेको बताइएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार हालसम्म गरिएको परीक्षणमा ९९ प्रतिशतभन्दा बढी नमुनामा ‘बीए २’ भेरिएन्ट र एक प्रतिशतभन्दा कम नमुनामा ‘बीए १’ भेरिएन्ट देखिएको छ ।
नयाँ भेरिएन्ट नआएसम्म कोभिडको चौथो लहर वा थप खतराको जोखिम कम भए पनि नाकामा निगरानी बढाउनुपर्ने विज्ञहरू बताउँछन् ।


  •  
  •  
  •