कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत

46
  •  
  •  
  •  


काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९५.२ प्रतिशत रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार काठमाडौं उपत्यकामा चार सय २६ जनासहित नेपालमा थप ११४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२ हजार ५३२ आरटीपीसीआर परीक्षण गरिएकोमा एक हजार १४९ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा चार हजार सात वटा एन्टीजेन परीक्षण गर्दा ३३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा एक हजार २६० जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म दश हजार ९६५ जना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा ९१ हजार ८३० ले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै आइतबारसम्म २६ हजार ६३० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा चार सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार सोमबार उपत्यकामा चार सय २६ जनामा संक्रमण भएको हो।

काठमाडौंमा मात्रै तीन सय एक, ललितपुरमा ६८ र भक्तपुरमा ५७ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै उपत्यकामा छ हजार चार सय १८ सक्रिय संक्रमित छन्।
काठमाडौंमा तीन हजार चार सय ५८ जना, ललितपुरमा एक हजार आठ सय ४२ र भक्तपुरमा एक हजार एक सय १८ सक्रिय संक्रमित छन्।

निपाह भाइरसप्रति सचेत रहन मन्त्रालयको आग्रह

मन्त्रालयले निपाह भाइरसको सङ्क्रमणप्रति सचेत रहन आग्रह गरेको छ । मन्त्रालयले भारतमा यस प्रकारको भाइरसको सङ्क्रमण देखिएकाले नेपालमा पनि फैलिन सक्ने भएकोले सचेत रहन आग्रह गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले भारतसँग खुला सिमा भएकाले यहाँ पनि फैलिनसक्ने भएकाले सचेत रहन आग्रह गरिएको बताए । भारतको केरला राज्यमा केही दिनदेखि निपाह भाइरसको सङ्क्रमण देखिएको छ ।

उनका अनुसार नेपालमा अहिलेसम्म उक्त भाइरसका सङ्क्रमित फेला परेका छैनन् । निपाह भाइरस एक प्रकारको पशुबाट मानिसमा सर्ने गम्भीर प्रकृतिको रोग लाग्ने भाइरस हो । यस भाइरस प्राकृतिकरुपमा ‘फूट ब्याट’ भन्ने प्रजातिको चमेरामा पाइन्छ ।

निपाह भाइरस जनावरबाट जनावर, जनावरबाट मानिस र मानिसबाट मानिसमा सर्ने गर्दछ । सङ्क्रमित चमेराबाट सुँगुर, गाई, गोरु जस्ता जनावर हुँदै मानिसमा सर्ने गर्दछ । यस्तै सङ्क्रमित पशुको संसर्गमा आएको फलफूल प्रयोग गरेमा, सङ्क्रमित व्यक्तिको रगत, दिसा र पिसावसँग प्रत्यक्ष सम्पर्कमा आएमा पनि निपाह भाइरस सर्ने गर्दछ ।

उक्त भाइरसका लक्षण ज्वरो आउने, रिङ्गटा लाग्ने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, श्वासप्रश्वासमा कठिनाइ हुने र टन्सिलाइटिस देखिने गर्दछ । यो रोग बढी सङ्क्रामक पनि हुने गरेको छ ।

निपाह भाइरसबाट बच्नका लागि फलफूल राम्रोसँग पखालेर मात्र खाने, तरकारी सकेसम्म पकाएर खाने, गाइबस्तुको गोठ र फार्म सफा राख्ने, मासु काट्दा र पकाउँदा पञ्जा र मास्कको प्रयोग गर्ने, सकेसम्म पानी उमालेर मात्र पिउने, बेलाबेलामा साबुनपानीले हात धुने, भीडभाडमा जाँदा मास्क लगाउने गर्नुपर्दछ ।


  •  
  •  
  •